सुरेन्द्र कामती ,२ वैशाख सिरहा । मिथिलाका प्रसिद्ध लोकनायक राजा सलहेशको आज सिरहामा पूजापाठ भईरहेको छ । छैठौं सातौ सताब्दीताका शौर्यवान राजाका रुपमा चर्चित सलहेशको सदरमुकाम सिरहामा रहेको गहबरमा अहिले हजारौं दशनार्थीको भीड लागेको छ । नेपाल र भारतका विभिन्न स्थानबाट दशनार्थीहरु सिरहा आई पुगेका छन् ।
सलहेश गहबर भित्र हातिमा सवार भएको सलहेशको दर्शन गर्न र भाकल पूरा भएकाहरु वर्षेनी यहाँ आउने गरेका छन् । न्याय र पराक्रमी उनी आफ्नो कालमा जनतको सुरक्षामा वढी केन्द्रित रहेका थिए । राजा सलहेशसँग प्रेम गरेका मालिनीहरु वैशाख १ गते सिरहाको लहान नजिकै रहेको सलहेश फुलबारीमा वर्षेनी मालाकार रुपमा फल्ने गरेको किबदन्ती रहँदै आएको छ । प्रेम प्रतिकको रुपमा फूल्ने सुनाखरीको मालाकार रुपलाई नियाल्न लाखौं श्रद्धालुभक्तजनहरु सलहेश फूलबारी पुगेका थिए ।
सलहेश फूलबारीमा फूल दर्शन गरेपछि राजा सलहेशको दरबार र मूल घर रहेको राजमहिसोथा सिरहा पुग्ने गर्छन् । जुन अहिले सिरहा नगरपालिका ७ मा रहेको छ । डिह आकारमा रहेको गहबर स्थलमा सलहेशको मूर्ति बनाईएको छ । सलहेशसँगै भाई मोतिराम, बुधेश्वर, भान्जा करिकन्हा, मालिनीहरु कुश्मा, दौना, रेशमा र वहिनी वनसप्तीको मनमोहक मूर्ति बनाईएको छ । मेला भर्न आएकाहरुले कागजको झाप, लड्डु लगायतका सामग्री चढाउने गरेका छन् ।