काठमाडौं, २३ पुष । राष्ट्रियसभा निर्वाचन एकल संक्रमणीय की बहुमतीय मत प्रणालीका आधारमा हुने भन्ने लामो विवाद पछि अन्ततः एकल संक्रमणीय मत प्रणाली अनुसार माघ २४ गते निर्वाचन हुने भएको छ । तर खुला र महिला सदस्यबाहेक भने बहुमतीय मत प्रणलीकै आधारमा छानिने छन । दलहरुबीच लामो समय विवादमा रहेको एकल संक्रमणीय मत प्रणालीका आधारमा कसरी उम्मेदवार निर्वाचित हुन्छन त ?
एकल संक्रमणीय मत प्रणाली समानुपातिक प्रणालीकै अर्को रुप हो । एकल संक्रमणीय मतप्रणालीमा निर्वाचक मण्डल मतदाताले निर्वाचित हुने सदस्यहरुलाई प्राथमिकताका आधारमा मत दिन्छन् । यसो गर्दा कुनै पनि मत खेर जाँदैन र थोरै मतदाता हुने दल वा समूहका उम्मेदवार पनि निर्वाचित हुने सम्भावना रहन्छ । तर उम्मेदवारको मतभार भने फरक पर्छ ।
बहुमतीय प्रणालीका आधारमा निर्वाचन हुँदा कुनै एक प्रदेशबाट तीन जना खुला सदस्य चयन गर्दा मतदाताले सिधै आफ्नो उम्मेदवारलाई मत दिएर निर्वाचित गराउन सक्छन । यसो हुँदा जुन पार्टीका मतदाता बढी छन् उसकै तीन जनाले जित्ने निश्चित हुन्छ । तर, एकल संक्रमणीय मत प्रणालीका आधारमा निर्वाचन हुँदा मतदाताले आफूले जिताउन चाहेको पहिलो प्राथमिकताको उम्मेदवार को हो ? उसलाई एक नम्बरमा संकेत गर्छ । त्यसपछि दोस्रोलाई २ र तेस्रोलाई ३ नम्बरमा संकेत गर्छ । मतदाताले आफ्नो मत प्राथमिकताका आधारमा व्यक्त गर्ने हुँदा यहाँ मत खेर जाने सम्भावना कम हुन्छ । पहिलो प्राथमिकताको उम्मेदवारले जित्नका लागि आवश्यक पर्ने मत पाएर बाँकी रहेको मत स्वतः दोस्रोमा जान्छ । दोस्रोले जित्न आवश्यक मत पुगेपछि स्वतः तेस्रोमा जोडिन पुग्छ । यस हिसाबले मत एकबाट अर्कोमा संक्रमण हुँदै जाने भएकाले नै यसलाई एकल संक्रमणीय भनिएको हो ।
यो प्रणालीको सूत्र भनेको मतदाता संख्यालाई निर्वाचित हुने सदस्यको संख्याले भाग गर्ने र त्यसमा एक जोड्ने हो । राष्ट्रियसभा ५९ सदस्यीय हुने भनिएको छ । तीमध्ये प्रत्येक प्रदेशबाट कम्तिमा ३ महिला, एक दलित र एक अपांगता भएको वा अल्पसंख्यक गरी ५ जना र ३ जना खुलासमेत ८ जना सदस्य चुनिन्छन् । कुल मिलाएर सात प्रदेशबाट ५६ जना सांसद चयन हुन्छन् । प्रत्येक प्रदेशका ८ जना राष्ट्रियसभा सदस्य सो प्रदेश अन्तर्गत स्थानीय तहका निर्वाचित प्रमुख र उपप्रमुख तथा प्रदेशसभा सदस्यहरुले मतबाट निर्वाचित हुन्छन् । बाँकी ३ जना मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले मनोनित गर्ने संवैधानिक व्यवस्था छ ।
यसरी एकल संक्रमणीयबाट निर्वाचन गर्दा कुल मतदाता ९ हजार ५ सय ६४ ले तीनजना महिला र तीनजना खुला सदस्यको चयन गर्दछन् । एकजनालाई जित्नका लागि ३ हजार १ सय ८९ मत आवश्यक पर्छ । पहिलो प्राथमिकताको उम्मेदवारले सोभन्दा बढी मत पाएर जित्नासाथ ३ हजार १ सय ८९ कटाएर बढी भएको मत दोस्रो प्राथमिकताको उम्मेदवारमा जोडिन्छ । दोस्रोले पनि ३ हजार १ सय ८९ मत कटाएपछि बाँकी रहेको मत तेस्रोमा जोडिँदा कांग्रेसका उम्मेदवार पनि निर्वाचित हुने अवस्था आउँछ । यसरी हिसाब गर्दा कांग्रेसबाट पनि केही उम्मेदवार निर्वाचित हुने देखेर सरकारले एकल संक्रमणीयमा जोड दिएको आंकलन गर्न सकिन्छ ।




