नीति तथा कार्यक्रम कार्यान्वयन हुनेमा सत्तारुढ सांसद नै छैनन् विश्वस्त | ईमाउण्टेन समाचार

Our Network

चैत २० २०८०, मंगलबार

नीति तथा कार्यक्रम कार्यान्वयन हुनेमा सत्तारुढ सांसद नै छैनन् विश्वस्त

काठमाडौं । सरकारले ल्याएको नीति तथा कार्यक्रम कार्यान्वयन हुनेमा सत्तारुढ दलका सांसदहरु नै विश्वस्त छैनन् ।

सोमवारको राष्ट्रिय सभाको बैठकमा बोल्ने क्रममा सत्तारुढ दलका सांसदहरुले नै सरकारको नीति तथा कार्यक्रम कार्यान्वयन हुनेमा विश्वस्त हुन नसकेको अभिव्यक्ति दिएका हुन् । बैठकमा सरकारले प्रश्तुत गरेको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै राष्ट्रिय सभा सदस्य नरबहादुर बिष्टले नेपाली जनताको चाहना अनुसार राज्यले गर्नुपर्ने दायित्व धेरै भएको र सोही अनुसार सरकारले नीति तथा कार्यक्रम प्रश्तुत गरेपनि कार्यान्वयन हुन्छ भन्नेमा विश्वस्त नरहेको बताउनु भयो । उहाँले हरेक वर्ष नीति तथा कार्यक्रम आउने तर कार्यान्वयन हुन नसक्ने अवस्था रहेको भन्दै यस वर्ष पनि कार्यान्वयन हुनेमा पूर्ण रुपमा विश्वस्त हुन नसक्ने बताउनु भयो ।

बैठकमा छलफलमा भाग लिँदै राष्ट्रिय सभा सदस्य दिलकुमारी थापा रावल पार्वतीले संविधानले भनेको समावेशी र समन्यायिक विकासका आधारमा नीति तथा कार्यक्रम नआएको बताउनु भयो । उहाँले सरकार स्थानीय तह र प्रदेश सरकारका समस्या समााधान गर्नेतर्फ संवेदनशील बन्न नसकेको आरोप लगाउनु भयो । उहाँले कर्मचारी नहुँदा स्थानीय तहमा विकास निर्माण कामले गति लिन नसकेको पनि बताउनु भयो ।

बैठकको छलफलमा भाग लिँदै राष्ट्रिय सभा सदस्य कमला पन्तले नीति तथा कार्यक्रमका विषयहरु सकारात्मक रहेपनि कार्यान्वयनको चरण चिन्ताको विषय भएको बताउनु भयो । उहाँले कस्तो बजेट आउँछ भन्नेबाट पनि कार्यान्वयनको बारेमा पत्ता लाग्ने बताउनु भयो । उहाँले भ्रष्टाचार नियन्त्रणप्रति पूर्ण प्रतिवद्ध, हरित अर्थतन्त्र लगायतका प्रकृतिमैत्री अर्थतन्त्रका कार्यक्रमहरु स्वागतयोग्य रहेको बताउनु भयो ।

छलफलमा भाग लिँदै राष्ट्रिय सभा सदस्य जयन्तीदेवी राईले नीति तथा कार्यक्रमले सबै क्षेत्रलाई समेटेर प्रश्तुत गरिएको बताउनु भयो । उहाँले कार्यक्रमहरु राम्रो भएपनि कार्यान्वयनको समस्या भएको बताउनु भयो । उहाँले संविधान, संघीयता प्रभावकारी कार्यान्वयन, अर्थतन्त्रको संरचनात्मक सुधार, पुँजीगत खर्चको वृद्धि भ्रष्टाचार नियन्त्रण सार्वजनिक खर्चमा मितव्ययिता, गुणस्तरीय पूर्वाधार निर्माण र शासकीय सेवा प्रवाहमा सुधार र रोजगारी वृद्धि लगायतका पक्ष राम्रा रहेको बताउनु भयो ।

राष्ट्रिय सभा सदस्य राईले नीति तथा कार्यक्रम कार्यान्वयन हुने किसिमको बजेट विनियोजन गर्नुपर्नेमा जोड दिनुभयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);