नेपालमा आर्थिक स्थिति सुदृढीकरण हुँदै गएको छ : प्रचण्ड | ईमाउण्टेन समाचार

Our Network

चैत ४ २०८२, बिहीबार

नेपालमा आर्थिक स्थिति सुदृढीकरण हुँदै गएको छ : प्रचण्ड

काठमाडौं, २४ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहालले उद्योग व्यवसायको विकास र बिस्तार गर्दै औद्योगिक आर्थिक क्रान्तिको आरम्भ गर्नुपर्ने आवश्यक्ता रहेको बताउनुभएको छ । आईतवार काठमाडौंमा आयोजित नेपाल बिजनेस समिट उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले आगामि आर्थिक वर्षको बजेटमा कृषि र उद्योग र स्वरोजगारले विशेष प्राथमिकता पाउने प्रतिवद्धता जनाउनु भयो ।

उहाँले कृषि क्षेत्रलाई आधुनिकीकरण एवं व्यवसायीकरण गर्दै लघु, घरेलु, साना तथा मझौला उद्योग व्यवसायको विकास गर्न आवश्यक रहेको पनि बताउनु भयो । उहाँले तिब्र आर्थिक वृद्धिका लागि कृषि तथा वन पैदावर, पर्यटन, जलविद्युत, सूचना प्रविधि लगायत प्रचुर सम्भावना बोकेका क्षेत्रहरुमा स्वदेशी तथा वैदेशिक लगानी बिस्तार गर्दै अघि बढ्नुपर्ने आवश्यक्ता रहेको बताउनु भयो । उहाँले वदेशी लगानीमैत्री वातावरण बनाउन केही कठोर कदम चाल्नुपर्ने आवश्यक्ता महशुस गरेको उल्लेख गर्नुभयो । प्रधानमन्त्री दाहालले विधि प्रक्रियाको झन्झटलाई अन्त्य गर्नुपर्ने आवश्यक्ता रहेको पनि बताउनु भयो । प्रधानमन्त्री दाहालले प्रतिभावान विद्यार्थी विदेश पलायन हुनबाट रोक्न विदेशी विश्वविद्यालयहरु नेपालमै सहज रुपमा खोल्न पाउने नीति बनाउने उद्घोष गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘नेपाल सरकारले कृषि क्षेत्रलाई दिएको प्राथमिकता र बनाएको नीति तथा कार्यक्रम अनुसार नयाँ उद्यमीहरुको उत्पादन, सो उद्यमशीलताको विकास तथा बिस्तार गर्दै रोजगारी वा स्वरोजगार बढाउने, कृषि क्षेत्रलाई आधुनिकीकरण एवं व्यवसायीकरण गर्दै लघु, घरेलु, साना तथा मझौला उद्योग व्यवसायको विकास र बिस्तार गर्दै औद्योगिक आर्थिक क्रान्तिको आरम्भ गर्नु आजको मुख्य आवश्यक्ता हो । यस दिशातर्फ बैंक तथा वित्तीय संस्था परिसंघ नेपालले आवश्यक अध्ययन गरेको प्रतिवेदन मैले पाएको छु, उक्त अध्ययनले औंल्याएका सुझावहरु कार्यान्वयनमा नेपाल सरकार आवश्यक पहल कदमी लिन, सहयोग गर्न प्रतिवद्ध रहेको छ । तिब्र आर्थिक वृद्धिका लागि कृषि तथा वन पैदावर, पर्यटन, जलविद्युत, सूचना प्रविधि लगायत प्रचुर सम्भावना बोकेका क्षेत्रहरुमा स्वदेशी तथा वैदेशिक लगानी बिस्तार गर्दै अघि बढ्नुपर्ने आवश्यक्ता रहेको छ । विदेशी लगानीमैत्री वातावरण बनाउन हामीले केही कठोर कदम चाल्नुपर्ने महशुस गरेको छु, ऐन होस् वा विधि प्रक्रियाको झन्झटलाई अन्त्य गर्नुपर्ने आवश्यक्ता मैले महशुस गरेको छु । शिक्षामा हजारौँ प्रतिभावान विद्यार्थी विदेश जाने र उतै बस्ने परिस्थिति अन्त्य गर्नका लागि मैले छलफल शुरु गरेको छु । कलेज, विश्वविद्यालय खोल्न किन विदेशीलाई स्वीकृत नदिने, राम्रा विश्वविद्यालयहरु विदेशी लगानीमा नेपालमा भित्र्याउन केले रोकेको छ ? हामी अलि उदार नभइकन आर्थिक विकासलाई गति दिन सकिँदैन ।’

प्रधानमन्त्री दाहालले सरकार आगामी आर्थिक वर्षको बजेटका लागि नीति, कार्यक्रमको अन्तिम तयारीमा रहेको बताउनु भयो । उहाँले आगामी वर्षको बजेटमा उत्पादन र रोजगारी वृद्धि गर्ने बताउनु भयो । उहाँले तत्काल देखापरेका संकटलाई समाधानका लागि चाल्नुपर्ने कदम, मध्यकालीन, र दीर्घकालीन रुपमा चाल्नुपर्ने नीति, कार्ययोजनाका बारेमा निजी क्षेत्रसँग छलफल भइरहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामी अहिले पक्कैपनी निकै जटिल र चुनौतिपूर्ण स्थितिबाट मुख्य रुपमा आर्थिक क्षेत्रमा चुनौतिको क्षेत्रबाट अघि बढेका छौँ । हामी सरकारको तर्फबाट अब नीति, कार्यक्रम र बजेट प्रश्तुतको अन्तिम तयारीमा छौँ । उत्पादन र रोजगारी उत्पादन वृद्धि र रोजगारी सृष्टि हाम्रो नीति कार्यक्रम र बजेटको पहिलो प्राथमिकतामा पर्नुपर्छ, त्यसले मात्रै हामीलाई अघि लैजान्छ भन्ने दिशामा हामी अघि बढेका छौँ । यो बीचमा धेरै अन्त्ररक्रिया र समझदारी भएका छन् सरकार र निजी क्षेत्र बीचमा । तत्काल देखापरेका संकटलाई समाधानका लागि चाल्नुपर्ने कदम, मध्यकालीन, र दीर्घकालीन रुपमा चाल्नुपर्ने नीति, कार्ययोजनाका बारेमा पनि हामीले गरिरहेका छौँ ।’

प्रधानमन्त्री दाहालले सामुहिक प्रयासबाट अहिलेका सम्पूर्ण समस्याको समाधान गर्न सकिने बताउनु भयो । उहाँले शिखर सम्मेलनले आगामी आर्थिक वर्षको बजेट तयार गर्न सहज बनाउने विश्वास व्यक्त गर्नुभयो । उहाँले वर्तमान अवस्थामा नेपालमा आर्थिक स्थिति सुदृढीकरण हुँदै गएको बताउनु भयो । कृषिलाई उच्च प्राथमिकता दिएर मात्रै देशको समग्र उद्योग र अर्थतन्त्रलाई सुदृढीकरण गर्न सकिने बताउनु भयो । उहाँले कृषिमा क्रान्तिकारी सुधार आवश्यक रहेको पनि बताउनु भयो ।

Leave a Reply