काठमाडौं, २२ वैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले साँस्कृतिक पर्वले देशको सांस्कृतिक विविधतालाई कायम राख्दै नेपाली–नेपालीबीचको एकतालाई थप बलियो बनाउने विश्वास लिएका छन् ।
उभौली पर्वको अवसरमा आज शुुभकामना सन्देश जारी गर्दै पौडेलले यस्तो बताएका हुन् । सबै समुदायका नेपालीहरू बीच राष्ट्रिय एकता, सहिष्णुता र सांस्कृतिक ऐक्यवद्धताको भावना थप सुदृढ पार्न अभिप्रेरित गर्दै सभ्य, समृद्ध र विकसित समाज निर्माण गर्न प्रेरणा प्रदान गरोस् भन्ने कामना गरेका छन् ।
वसन्त ऋतुको आगमनसँगै बाली लगाउने समय सुरु हुने भएकोले प्रकृति र पितृपूजक किराँत समुदायले बालीनाली राम्रो होस्, प्राकृतिक प्रकोप तथा विपत्तिहरू नआउन् भनेर भूमि, बाली र पितृपूजा गर्ने गर्दछन् । यसका
साथै विभिन्न परम्परागत नृत्य गर्दै र मिष्टान्न परिकार खाएर आपसमा सुख, शान्ति, सुस्वास्थ्यको आदानप्रदान गरी रमाइलोसँग उभौली पर्व मनाउने परम्परा रहेको छ ।
किराँत समुदायको बाहुल्यता भएको नेपालका पूर्वी जिल्लाहरू र उपत्यकामा बसोबास गर्दै आएका किराँत समुदायहरूमा यो पर्वलाई भव्यरूपमा मनाउने गरिन्छ ।