काठमाडौं, १७ वैशाख । पहुँच र प्रभावको बलमा पदमा पुग्नेले के के सम्म गर्न सक्छ भन्ने धनञ्जय रेग्मीले देखाएका छन् । धनञ्जयले नेपाल पर्यटन बोर्डको सीइओका रुपमा संस्थाकै प्रतिष्ठा धुमिल पारिसकेका छन् । उनको गतिविधिले देशको अन्तर्राष्ट्रिय प्रतिष्ठामा समेत आघात पुगेको छ । तैपनि उच्च नेतृत्वका नातागोतालाई खुशी बनाएर धनञ्जय पर्यटन बोर्डलाई धन कमाउने अड्डा बनाएर बसेका छन् ।
धनञ्जय माथि आर्थिक अनियमितता र अराजकता मच्चाएकोमा छानबिन समेत भइसकेको छ । छानविन समितिले २०७८ को माघ महिनामै पर्यटन बोर्डमा बुझाइसकेको छ ।
बोर्डका उपाध्यक्ष चन्द्र रिजालको संयोजकत्वको समितिले बोर्डका अध्यक्ष पदेन रहने तत्कालीन पर्यटन सचिवलार्य प्रतिवेदन बुझाउँदा आर्थिक अनियमितता र नैतिक प्रश्नको निष्कर्ष निकालेको थियो । तर, पैसा र पहुँचका बलमा धनञ्जयलाई कसैले चलाउन सकेन ।
२०७४ मा कतार एयरलाइन्सबाट काठमाडौं आउँदा ३० ग्राम सुनकाण्डमा परेका थिए उनी । त्यो घटनामा १ लाख ४० हजार रुपैयाँ जरिवाना तिरे । २०७८ मा बेलायतमा आयोजित विश्व पर्यटन मेलामा ८० लाख रुपैयाँ खर्च विवादमा परेको छ । यसबारे पनि उनी छानविनमा परेका छन् ।
धनञ्जय वल्र्ड टुरिजम मार्टमा सहभागी भएर फर्कंदा २० कात्तिक २०७९ मा त्रिभुवन विमानस्थलमा रक्सीको बोतलका झोलाहरु हातभर बोकेर एयरपोर्टमा ओर्लिएका थिए । पर्यटन बोर्डको सीइओको हर्कत देखेर धेरै लज्जित भए त्यतिबेला । उनलाई नियमानुसार रोकेर कर तिराउन खोज्दा झगडा नै गरेका थिए । छानविन पछि पौष २ मा निलम्बनमा परेपनि सर्वोच्च अदालतबाट अन्तरिम आदेश लिएर पुस १४ मा पुनः काममा फर्कन सके ।
अन्य देशमा भएको भए धनञ्जय एक मिनेट पनि पदमा रहँदैनथिए । तर, उनी पहुँच र प्रभाव देखाएर उदण्ड क्रियाकलाप गर्दा पनि पदमै टिके ।
धनञ्जय सुनकाण्डमा पनि मुछिएका व्यक्त हुन् । उनी २०७४ मा सुनको अवैध ओसारपसारमा कारबाही भोगेका व्यक्ति हुन् । सुनकाण्डमा कमाएको पैसा नै प्रयोग गरी बोर्डमा पुगेको चर्चा पर्यटन व्यवसायको क्षेत्रमा चलिरहन्छ ।
अन्तर्राष्ट्रिय कार्यक्रमहरुमा सहभागीको बहानामा धनञ्जयले पर्यटन बोर्डलाई करोडौंको नोक्शानी पुर्याएको विषय अख्तियारको छानविनमा चलिरहेको छ । विदेशमा मेलामा सहभागी भएको बिल बढाएर अनियमितता धनञ्जयबाट हुने गरेको छ । जियोग्राफिकल इन्फर्मेसन प्रणाली जडानका क्रममा ४ करोड ७३ लाख रुपैयाँ खर्चमाथि प्रश्न उठेको छ ।
धनञ्जयलाई २०७७ को माघमा तत्कालीन केपी शर्मा ओलीको सरकारले नियुक्ति दिएको थियो । यो नियुक्ति नै त्यतिबेला विवादमा परेको थियो ।
विश्वस्त स्रोतका अनुसार धनञ्जय रेग्मीको शैक्षिक प्रमाणपत्र, विभिन्न समयमा उनले गरेका गतिविधि देखि खर्चबारे समेत अख्तियारको आँखा परेको छ । उनीविरुद्ध धेरै उजूरी परेकाले त्यसमाथि छानविन बढिरहेको अख्तियार स्रोतले जानकारी दिएको छ ।