काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले दलहरुले आफ्ना कमी कमजोरी सुधारे मात्रै जनताले विश्वास गर्ने बताउनुभएको छ ।
मंगलवार नयाँ बानेश्वरस्थित संसद भवन बाहिर उपनिर्वाचनको परिणामको सन्दर्भमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै अध्यक्ष नेपालले दलहरुले आफ्ना कमी, कमजोरी सुधारे मात्रै जनताले विश्वास गर्ने बताउनुभएको हो । उहाँले जनताको झुकाव कसैप्रति हुने र कसैप्रति नहुने किन भइरहेको छ भन्ने विश्लेषण गरेर दलहरुले आफूलाई सुधार्नुपर्ने बताउनु भयो । उहाँले यथास्थितिमा जनताले कसैलाई पनि विश्वास नगर्ने बताउनु भयो ।
नेकपा(एमाले)का सचिव योगेशकुमार भट्टराईले उपनिर्वाचनको मत परिणामले ठूला दलहरु रुपान्तरण हुनुपर्छ भन्ने आवाजलाई सशक्त बनाएको बताउनु भयो । उहाँले निर्वाचनको परिणामलाई कुनै चमत्कारको रुपमा नलिइ स्वभाविक प्रक्रियाको रुपमा लिनुपर्ने बताउनु भयो ।
त्यस्तै, नेकपा(एमाले)का प्रमुख सचेतक पदम गिरीले एमालेले सुशासन, समृद्धि, राष्ट्रिय स्वाधिनता र सामाजिक सुरक्षाको क्षेत्रमा खेलेको भुमिकालाई स्पष्ट रुपमा जनता समक्ष पु¥याउन चुकेको बताउनु भयो । एमालेले गरेका कामहरु जनतासम्म पु¥याउन नसकेका कारण एमाले उपनिर्वाचनमा पराजित हुनुपरेको उहाँले बताउनु भयो ।
सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै नेपाली काँग्रेसका सांसद रामहरी खतिवडाले ठूला दलहरुले युवाको भावनालाई किन बुझ्न सकेनन् भन्ने विषयमा छलफल हुनु आवश्यक रहेको बताउनु भयो । उहाँले आगामी दिनमा जनताले आफूहरुको अनुहारलाई मन नपराउनुको कारणबारे पार्टीमा वृहत छलफल गरेर अगाडी बढ्नुपर्ने बताउनु भयो । सांसद खतिवडाले नेताहरुले आफ्नो दिमाग र पार्टीलाई अपडेट गर्नुपर्ने पनि बताउनु भयो ।
राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले उपनिर्वाचनको परिणामले आफ्नो पार्टीप्रतिको भ्रम र आक्रमणलाई चिरेको बताउनु भयो । उहाँले नेपाली जनताहरु परिवर्तन र देशको समान विकासको पक्षमा रहेको देखिएको पनि बताउनु भयो ।
त्यस्तै नेकपा(माओवादी केन्द्र)का सांसद माधव सापकोटाले उपनिर्वाचनको मत परिणामले ठूला र पुराना पार्टीहरुलाई चुनौति खडा गरेको बताउनु भयो । उहाँले ठूला पार्टीहरुले आफ्नो जीवनशैली र कार्यशैलीका बारेमा गम्भिरतापूर्वक नसोच्ने हो भने चुनौति खडा हुने बताउनु भयो ।
उहाँले निर्वाचनमा गठबन्धन हुँदा बढी जोखिम हुने र अनौठो परिणाम आउने खतरा हुने पनि बताउनु भयो । सांसद सापकोटाले वर्तमान सरकारको निरन्तरताको विकल्प नरहेको भन्दै रास्वपाले स्थिरता र स्थायित्वको बारेमा सोच्नेमा विश्वास व्यक्त गर्नुभयो ।