एजेन्सी । सुडानको राजधानी खार्तुममा भएको हिंसात्मक लडाइँमा ज्यान गुमाउनेको सङ्ख्या १ सय ८५ जना पुगेको छ ।
तीन दिनको लडाइँमा एक हजार ८ सय जनाभन्दा धेरै घाइते भएको संयुक्त राष्ट्र सङ्घले जनाएको छ । सुडानमा सेना र अर्धसैनिक बलबीच केहिदिन यता झडप हुँदै आएको छ । सुडानका लागि युरोपेली सङ्घका राजदूत एडन ओहाराको खार्तुममा रहेको घरमा पनि आक्रमण भएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।
निरन्तर लडाइँ भैरहँदा विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले खार्तुमका नौ वटा अस्पतालमध्ये केहीमा रगत, रक्तसञ्चार उपकरण र अन्य अत्यावश्यक सामग्रीको अभाव भएको जनाएको छ । सुडानमा नागरिक शासनबारेको प्रस्तावित सङ्क्रमणको अवस्थाका विषयमा विवाद रहेको छ । सन् २०२१ को अक्टोबरमा भएको एउटा विद्रोहपछि सुडानमा सैन्य जनरलहरूले सार्वभौम परिषद् भनिने संयन्त्र बनाएर राज्य सञ्चालन गर्दै आएका छन् ।