झापा, ३ वैशाख । झापामा लुटपाट गरेको अभियोगमा चार जना पक्राउ परेका छन् । नगद १ लाख ४५ हजार रुपैयाँ र काठको गोलिया ६९ थान लुटपाट गरेको अभियोगमा दमक नगरपालिका–९ शान्तिमार्ग बस्ने ३६ वर्षीय सन्तोष कुमार पराजुली समेत ४ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
दमक नगरपालिका–९ चिया बगानस्थित ईलामबाट चिलाउनेको काठ लोड गरी आएको मे.१ त ५००९ र मे.१ त ४९४७ नम्बरको ट्याक्टरका चालकलाई अपरिचित ७र८ जना व्यक्तिहरूले कुटपिट समेत गरी उक्त काठ र नगद लुटि लगेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले लुटपाटमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो । साथै लुटपाट गरी उक्त चिया बगानमा लुकाई राखेको काठसमेत प्रहरीले बरामद गरेको छ ।
घटनामा संलग्न हाल फरार अन्य व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।




