काठमाडौं, २७ चैत्र । आगामी बैशाख १० गते तनहुँ–१ मा हुने उपनिर्वाचनका लागि उम्मेदवारहरु चुनावी प्रचारमा ब्यस्त छन् । गत मंसिरमा सम्पन्न निर्वाचनमा निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपति भएपछि सो क्षेत्रमा रिक्त रहेको प्रतिनिधि सभा सदस्यका लागि उपनिर्वाचन हुन लागेको हो ।
एक प्रतिनिधि सभा सदस्यका लागि ९ दलले उम्मेदवारी दर्ता गराएका छन् । तीमध्ये एउटा दल ‘हाम्रो नेपाली पार्टी’ (लौरो) अभियानले रास्वपाका उम्मेदवार डा.स्वर्णिम वाग्लेलाई समर्थन गर्ने भएको छ । लौरोले विष्णु पराजुलीले दिएको उम्मेदवारी निस्क्रिय पार्दै वाग्लेलाई समर्थन गर्ने निर्णय गरेको हो ।
गत मंसिरमा सम्पन्न निर्वाचनमा कांग्रेसका पौडेलले २५ हजार ३६१ मत प्राप्त गरेर निर्वाचित भएका थिए भने निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका एकबहादुर रानाले १९ हजार ९८१ मत ल्याएका थिए । त्यसैगरी, तेस्रो स्थानमा ६ हजार ८६ मतसहित स्वतन्त्र उम्मेदवारी दिएका गोविदराज जोशी थिए भने रास्वपाका विकास सिग्देलले ६ हजार ४४ मत ल्याएका थिए । त्यस्तै, हाम्रो नेपाली पार्टीले प्रविन पौडेललाई उम्मेदवार बनाएको थियो । पौडेलले ३८४ मत ल्याएका थिए । गत चुनावको मतलाई आधार बनाउँदा रास्वपा र लौरौ अभियानको मत जोड्दा कुल ६ हजार ३२८ हुुन्छ । सो मत निर्वाचित हुन प¥याप्त हुँदैन् । चुनाव जित्नको लागि करिब २५ हजार मत कटाउनुपर्छ । वाग्लेको पक्षमा जित्ने सम्भावना देखिदैन् । कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईलाई आफ्नो पार्टीसहित नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादीसहित सत्तागठबन्धनको समर्थन रहेको छ । त्यस्तै, नेकपा एमालेबाट सर्वेन्द्र खनाल उम्मेदवार छन् । भट्टराई र खनालबीच नै प्रतिस्पर्धा हुने देखिएको छ ।