काठमाडौं, २३ चैत्र । नेपाल सरकारका उपसचिव र शाखा अधिकृतसरहका कर्मचारीहरुले १ महिनाभित्र आफ्नो व्यक्तिगत विवरण अद्यावधिक गर्नुपर्ने भएको छ । राष्ट्रिय कितावखानाले सरुवा बढुवा पुरस्कार र पदस्थापन विज्ञताका अधारमामात्र गर्ने सरकारको तयारीपछि कर्मचारीहरुको लागि सूचना जारी गरेको हो ।
धेरै कर्मचारीको शुरु सेवा प्रवेशको मात्र शैक्षिक योग्यता रहेको तथा सरुवा वढुवाको विवरणसमेत अद्यावधिक नरहेकाले यस्तो सूचना जारी गरी विवरण अद्यावधिक गर्न लागेको हो । राष्ट्रिय किताबखानाका अनुसार निजामती सेवा नियमावली २०५० को नियम १० मा भएको व्यवस्थाबमोजिम यो निर्णय भएको हो ।
उपसचिव र अधिकृतको पदमा पुगेका कर्मचारीको पनि व्यक्तिगत विवरणमा अहिलेसम्म एसएलसी वा प्रवीणता प्रमाणपत्र तहको मात्र शैक्षिक योग्यता रहेको छ । धेरै कर्मचारीको पनि पुरानै विवरण रहेकाले यस्तो सूचना जारी गरिएको किताबखानले स्ष्पट पारेको छ ।
विवरण अद्यावधिक गर्न किताबखानाको वेभसाइडमा रहेको इमेलमार्फत वा स्वयम् कागजात लिई पुल्चोकस्थित कार्यालयमा गई विवरण अवधिक गर्न सकिने छ । अहिले निजामती सेवामा उपसचिव र शाखा अधिकृत सरहका करिब ७ हजार कर्मचारीहरु कार्यरत रहेका छन् ।