काठमाडौं । वैशाख १० गते हुने संसदको उपनिर्वाचनमा मंसिर ४ मा भएको संसदको चुनावमा पराजित उम्मेदवारहरुको संख्या उल्लेख्य देखिएको छ । प्रमुख राजनीतिक दलहरुले नै त्यस्ता उम्मेदवारहरुलाई टिकट दिएका छन् ।
कतिपय उम्मेदवार यसअघि हारेको निर्वाचन क्षेत्रभन्दा फरक ठाउँबाट उम्मेदवार बनेका छन् । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव जनमत पार्टीका अध्यक्ष सीके राउतसँग सप्तरी २ बाट संसदको निर्वाचनमा पराजित भएका थिए । उनी बारा २ को उपनिर्वाचनका लागि उम्मेदवार बनेका छन् ।
केपी शर्मा ओली नेतृत्वको नेकपा एमालेले पूर्वआइजीपी सर्वेन्द्र खनाललाई तनहुँ १ बाट उम्मेदवार बनाएको छ । उनी मंसिर ४ को चुनावमा काठमाडौं क्षेत्र नं ६ बाट पराजित भएका थिए ।
राष्ट्रिय स्वतन्त्र पार्टीबाट बारा २ मा उम्मेदवार बनेका पूर्वडिआइजी रमेश खरेल काठमाडौं १ बाट मंसिर ४ को निर्वाचनमा पराजित भएका थिए । उनले चुुुनाव लड्नकै लागि उक्त पार्टीमा प्रवेश गरे ।
बारा २ बाट उपनिर्वाचनमा उम्मेदवार बनेका शिवचन्द्रप्रसाद कुशवाहा यसअघि सोही क्षेत्रबाट निर्वाचनमा पराजित भएका थिए । उनी मंसिर ४ को चुनाव मा नेकपा माओवादी केन्द्रका उम्मेदवार बनेका थिए । चुनाव लड्नकै लागि सीके राउत नेतृत्वको जनमत पार्टीमा गएका छन् ।
नेपालमा पछिल्लो समय चुनावमा नाम चलेका व्यक्तिहरु उम्मेदवार बन्ने लहर नै चलेको छ । निर्वाचन हारेकाहरु कतिपय उम्मेदवार चार महिनामै उपनिर्वाचनका लागि उम्मेदवार बनेका छन् ।