पत्रकारमैत्री कानुन निर्माणका लागि सक्दो सहयोग गर्ने सभामुखको प्रतिवद्धता | ईमाउण्टेन समाचार

Our Network

असोज ४ २०८१, शुक्रबार

पत्रकारमैत्री कानुन निर्माणका लागि सक्दो सहयोग गर्ने सभामुखको प्रतिवद्धता

काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले पत्रकारमैंत्री कानुन निर्माणका लागि आफूले सक्दो सहयोग गर्ने बताउनु भएको छ ।

शुक्रबार काठमाडौंमा आयोजित रिपोर्टर्स क्लव, नेपालको रजत महोत्सव समारोहमा बोल्दै उहाँले सो प्रतिवद्धता व्यक्त गर्नु भएको हो । सभामुख घिमिरेले जनताको सुुसूचित हुने अधिकारलाई सहज बनाउने कुरामा पनि आफूले पत्रकारहरुलाई आवश्यक सहयोग गर्ने बताउनु भयो ।

उहाँले नेपालको सञ्चार क्षेत्रमा ठूलो प्रगति भएको उल्लेख गर्दै त्यसलाई मुलुकको विकास र आर्थिक उन्नतिमा लाग्ने गरी प्रणालीको विकास गर्न आवश्यक रहेको पनि स्पष्ट पार्नु भयो । सभामुख घिमिरेले भन्नु भयो, ‘हामीले राजनीतिक क्षेत्रमा ठूलो परिवर्तनहरु गरेका छौं । जनता आज यो परिवर्तनबाट आशाबादी भएर बसेको बेलामा केही चुनौतिको कारणले समस्या उत्पन्न भएको छ । अहिले राजनीतिक क्षेत्रमा परिवर्तन भएजस्तै हाम्रो नेपालमा पनि मिडियाको क्षेत्रमा, सञ्चारको क्षेत्रमा ठूलो प्रगति भएको छ । र, परिवर्तन भएको छ । यसको भूमिका अव देश निर्माणमा, आर्थिक क्षेत्रको उन्नति गर्ने कुरामा, प्रणालीलाई विकास गर्ने कुरामा कसरी यसलाई बनाउन सकिन्छ ? मलाई लाग्छ–एउटा चुनौति आएको छ । त्यो चुनौतिलाई सामना गर्नका लागि रिपोर्टर्स क्लवको यो रजत जयन्ति सार्थक हुनेछ भन्ने मैले विश्वास लिएको छु । त्यही कुराहरुलाई अगाडि बढाउने सन्दर्भमा अहिले मैले लिईरहेको जिम्मेवारीको हिसावले पत्रकारमैंत्री कानुनहरु निर्माण गर्ने कुरा, जनताको सुसूचित हुने अधिकारलाई सुलभ बनाउने कुरा यी तमाम कुराहरुमा आफ्नो क्षेत्रबाट गर्नुपर्ने सहयोग म गर्नेनै छु ।’

सभामुख घिमिरेले मुलुकको आर्थिक उन्नतिको काममा सञ्चार क्षेत्रलाई लगाउने काममा रिपोर्टर्स क्लव नेपालले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास समेत व्यक्त गर्नु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);