काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले सरकारमा सहभागी हुने बारेमा प्रधानमन्त्री जवाफको प्रतिक्षा गर्ने भएको छ ।
बुधवार बसेको पार्टीको पदाधिकारी बैठकले आफ्नो दाबी तीन वटा मन्त्रालयमा रहेको र मन्त्रालय प्राप्त नभइसकेको र मन्त्रालय टुंगो पनि नलागेका कारण प्रधानमन्त्रीको उत्तरको प्रतिक्षामा रहेको बताएको हो ।
बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टीका उपमहासचिव जगन्नाथ खतिवडाले आफ्नो पार्टीले धेरै त्याग गरिसकेकाले अब आफूले मागेका तीन मन्त्रालयमा आफ्नो पार्टीको अडान रहेको बताउनु भयो । उहाँले तीन वटा मन्त्रालय प्राप्त नभइसकेको र मन्त्तालयको पनि टुंगो नभएकाले प्रधानमन्त्रीको जवाफ कुरेर बसेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘धेरैबेर छलफल गरेका छौँ । तीन मन्त्रालयमा हाम्रो दाबी छ । मन्त्रालय प्राप्त भइ नसकेको र मन्त्रालय पनि टुंगो लागि नसकेकाले हामी प्रधानमन्त्रीको उत्तरको प्रतिक्षामा छौँ । जुनकुनै बेला पनि मन्त्रीको नाम दिनसक्ने गरी तयारीमा छौँ । हामी तीन नाम दिन तयार भएर बसेका छौँ ।’
पार्टी प्रवक्तासमेत रहनुभएका खतिवडाले आफूले मागेका तीन मन्त्रालय दिए मन्त्रीको नाम दिन आफूहरु तयार भएर बसेको स्पष्ट पार्नुभयो ।




