काठमाडौं, ९ चैत्र । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई १० राजनीतिक दलले विश्वासको मत दिएका हुन् । धेरै दल भएकै कारण दाहाललाई मन्त्रालय बाँडफाँटमा निकै चुनौती देखिएको छ । प्रधानमन्त्री दाहालसँग सबैभन्दा ठुलो दल नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी, जनता समाजवादीलगायतका शीर्ष नेताहरुको छलफल भइरहँदा राष्ट्रिय स्वतन्त्र पार्टीले पनि सरकारमा सहभागी हुने संकेत देखाएको छ । उपप्रधान तथा गृहमन्त्रालय पाएमा सरकारमा फर्कने रास्वपाको भित्रि योजना छ ।
प्रधानमन्त्री दाहालले विश्वासको मत लिएको ४ दिनभित्र मन्त्रिपरिषद विस्तार गर्ने प्रतिक्रिया दिएको पनि आज चार दिन पुग्दैछ । आजै मन्त्रिपरषद विस्तार हुने सम्भावना न्युन छ । नयाँ गठबन्धनमा आबद्ध नभएपनि प्रधानमन्त्रीलाई गत चैत्र ६ गते विश्वासको मत दिएको रास्वपाको भुमिकालाई निकै अर्थपुर्ण तरिकाले हेरिएको थियो । रास्वपाका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेको नागरिकता मुद्दामा सर्वोच्च अदालतले सांसद पद खारेजगरेपछि सरकारबाट ४२ दिनमै बाहिरीएको थियो ।
रास्वपालाई पुनः गृहमन्त्रालय नदिएका प्रधानमन्त्री प्रचण्डले अब गृहमन्त्री दिने सम्भावना न्युन देखिन्छ । यद्यपी पुरानै हैसियत पाउने आशाले रास्वपाले प्रचण्ड सरकारबाट समर्थन फिर्ता नलिएपनि माओवादी भित्रैबाट गृह आफैले राख्नुपर्ने दबाब आइरहेको छ ।
अर्कोतिर कांग्रेसले पनि शक्तिशाली मन्त्रालय गृह वा अर्थ ताकिरहेको छ । गत पुस १० गते जुन हैसियतमा सरकारमा सामेल भएको र सोही स्थिति भए सरकारमा जाने तयारी रहेको रास्वपा स्रोतले जनाएको छ ।




