काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वासको मत लिएरै संसदको बिजनेस सकिने संकेत देखिएको टिप्पणी गर्नुभएको छ ।
आज प्रतिनिधि सभाको बैठकमा बोल्दै पौडेलले प्रधानमन्त्रीलाई अर्को पटक विश्वासको मत लिने कार्यसूची कहिले छ ? भन्दै प्रश्न उठाउनुभयो ।
साथै, एमालले किन विश्वासको मत फिर्ता लियो भन्ने कुरा आफ्नो मनलाई सोध्न प्रधानमन्त्रीलाई आग्रह गर्नुभयो ।
पुस २६ गते विश्वासको मत लिएका प्रधानमन्त्री दाहालले आज पुनः विश्वासको मतका लागि आह्वान गर्नुभएको छ । पुस १० गते कांग्रेस लगायतका दलसँग कुरा नमिलेपछि दाहाल एमालेसँगको सहकार्यमा सरकार बनाउन सहमत हुनुभएको थियो । तर, राष्ट्रपतिको निर्वाचनको विषयलाई लिएर उक्त गठबन्धन फुटेको थियो ।
संसदमा बोल्दै पौडेलले प्रधानमन्त्रीलाई नेकपा एमालले विश्वासको मत नदिने जानकारी दिदै अन्य दललाई समेत प्रधानमन्त्रीको विपक्षमा मतदान गर्न आग्रह गर्नुभएको थियो ।