बटुक राज गिरि \ माउन्टेन टेलिभिजन एचडी ।
काठमाडौँ, फाल्गुन २६ । राजनीतिक शक्तिसंघर्षका दौरान निक्कै लामो रस्साकस्सीपछि मुलुकले बिहिबार तेस्रो राष्ट्रपति निर्वाचित गरेको छ। आठ दलको समर्थनमा नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले तेस्रो राष्ट्रप्रमुखका रुपमा राष्ट्र प्रमुखको जिम्मेवारी आगामी हप्ताबाट औपचारिक रुपमा सम्हालनुहुनेछ । नेपालको इतिहासमा दुई वटा राष्ट्रपतिहरुको कार्यकाललाई सन्तोषजनक रुपमा नरहेको भन्दै आलोचना खेप्न बाध्य भएको राष्ट्रपति जस्तो गरिमामय संस्थाको गरिमा पौडेलले कसरी राख्नुहोला ?
विगतका राष्ट्रपतिको चुनाव भन्दा यसपटक राजनीतिक दलहरुको राष्ट्रपति जस्तो गरिमामय संस्थालाई पेचिलो विषय बनाए । राष्ट्रपतिको साझा उम्मेदवार तय गर्ने विषयको विवादले चुनाव लगत्तै गठन भएको सरकार २ महिनामा पनि टिक्न सकेन र समिकरण बदलियो । फल स्वरुप आठ दलको समर्थन पाएको कांग्रेस उम्मेदवार पौडेल विजयी हुनुभयो भने एक्लै मैदानमा उत्रिनुभएएका एमाले उपाध्यक्ष सुवास नेम्वाङले पराजय व्यहोर्नुभयो ।
राष्ट्रपति पदलाई सिरोमोनियल पदका रुपमा संविधानले विश्लेषण गरेको छ । तर राजनीतिक दलहरुले यसलाई कार्यकारी पद जत्तिकै महत्व दिएको पछिल्ला राजनीतिक गतिविधिले देखाएको छ । यद्यपि मुलुकले तेस्रो पटक राष्ट्रपति पाइरहँदा अबको राष्ट्रपतिले संविधान, लोकतन्त्र र व्यवस्थाको मात्रै होइन विगतमा धुमिलिएको राष्ट्रपति पदको समय साखलाई उच्च पार्नु पर्ने दायित्व देखिन्छ।