विद्या तामाङ \ माउन्टेन टेलिभिजन एचडी ।
काठमाडौँ, फाल्गुन २१ । शोखालाई जेल सजाय सुनाएसगैँ विदेशी कूटनीतिज्ञहरुले प्रधानमन्त्री हुन सेनको आलोचना गरिरहेका बेला कम्बोडिया सरकारले भने पश्चिमा देशहरुले आफ्नो सार्वभौमिकतामाथि हस्तक्षेप गरेको आरोप लगाएको छ। कम्बोडिया सरकारको यस्तो आरोपले अन्तराष्ट्रिय जगतको ध्यान एकपटक तीन दशक भन्दा बढी एकछत्र शासन गरिरहनुभएका प्रधानमन्त्री हुन सेनतर्फ केन्द्रित भएको छ। प्रधानमन्त्री सेनको सत्ता च्युत गर्न विदेशी शक्ति राष्ट्रहरुसगँ मिलेर नेता शोखाले षडयन्त्र रचेको कम्बोडियाको अदालतले ठहर गरेको हो।
सर्वोच्च अदालत कम्बोडिया सरकारको नियन्त्रणमा रहेको भन्दै अन्तराष्ट्रिय जगतमा आलोचना भइरहेको बेला प्रधानमन्त्री सेनले भने पश्चिमा देशहरुले शोखासगँ मिलेर षडयन्त्र रचेको आरोप लगाउनुभएको छ । प्रधानमन्त्री सेनको तर्कले, पश्मिमा मुलुकलाई थप चिढ्याउने देखिएको छ। सयुंक्त राष्ट्रसंघ, युरोपियन युनियन, अमेरिका,फ्रान्स,अष्ट्रेलिया लगायतका पश्चिमा मुलुकले प्रधानमन्त्री सेनले क्रुरता देखाएको र मानव अधिकार उल्लंघन गरी नेता शोखालाई सजाय सुनाएको भन्दै , फैसलाको निन्दा गरेका थिए ।
नेता शोखालाई अहिले घरमै नजरबन्दमा राखिएको छ भने बाहिरी मानिसँग भेटघाट गर्न दिइएको छैन् । इन्टरनेट तथा फोन सेवा समेत अवरुद्ध पारिएको र राजधानी नोम पेनमा रहेको निवास वरीपरी सिसिटिभी क्यामेराबाट निगरानी राखिएको छोरी केम मोनोविथ्याले बताएकी छन् । उनले कम्बोडियाको सरकारले आफुहरु विरुद्ध अन्याय गरेको भन्दै मुखले भन्दा पनि कामले न्याय दिलाउन अन्तराष्ट्रिय जगतसँग आग्रह गरेकी छन् । जुलाईमा कम्बोडियामा हुन गइरहेको आम निर्वाचनमा पुन ५ वर्ष सत्ता आफनो पोल्टामा पार्न प्रधानमन्त्री सेनले षड्यन्त्र गरेको शोखा पक्षका नेताहरुको आरोप छ। राष्ट्र संघले पनि प्रधानमन्त्री सेनले कम्बोडियाको विपक्षी दललाई व्यवस्थित रूपमा ध्वस्त पारेको, संविधानद्वारा जारी गरिएको लोकतान्त्रिक स्वतन्त्रतालाई खलल पारेको तथा आफ्ना विरोधी र आलोचकहरूलाई दबाउन अदालतको प्रयोग गरेको भन्दै विरोध गरेको छ। कम्बोडियाको सर्वोच्च अदालतले सन् २०१७ मा देशको सबैभन्दा लोकप्रिय विपक्षी दल (सीएनआरपी) लाई विघटन गरेको थियो भने नेता शोखालाई देशद्रोहको आरोपमा पक्राउ गरिएको थियो ।
संसदमा उक्त पार्टीबाट प्रतिनिधित्व गर्ने १ सय १९ सासंदलाई, ५ वर्ष राजनीति गर्नबाट समेत बञ्चित गरिएको थियो । सन् २०१८ मा शोखालाई चौतर्फी विरोपछि जमानतमा रिहा गरिए पनि घरमै नजरबन्द गरिएको थियो । २०१८ मा आम निर्वाचन भएको बेला पनि विपक्षी दल ( सीएन आरपी )का समर्थक, राजनीतिज्ञ,अधिकारकर्मीलाई देशद्रोह, तथा अन्य आरोपमा दोषी ठहर गर्दै सजाय सुनाइएको थियो । अधिकारीकर्मी, असल नेतृत्वको रुपमा परिचित ६९ वर्षीय शोखालाई पटक पटक देशद्रोहको आरोप लगाउँदै पक्राउ गर्नुले कम्बोडियाको राजनीतिक अस्थिर बनेको छ । सन् १९८५ देखि एकछत्र शासन गरिरहनुभएका सेनले आफ्नो सत्ता र शक्ति जोगाइराख्न ,अन्य पार्टीलाई राजनीतिको मैदानमा उत्रिन नदिन अनेक हतकण्डा अपनाउने गरेको विश्लेषण हुन थालेको छ।