बिसंतर शाक्य \ माउन्टेन टेलिभिजन एचडी।
काठमाडौँ फाल्गुन १६ । अष्ट वैतराग हजारौं वर्षको इतिहास बोकेको बुद्धको जन्म भन्दा अघि देखिको हो । मञ्जुश्रीले सहर बस्ने वातावरण तयार गरेपछि यो पवित्र भूमि गोकर्णसहित विभिन्न आठ स्थानमा बोधिसत्व प्रकट भएर सिद्ध प्राप्त गरेको विश्वास छ । यी आठ स्थानलाई अष्ट बैतराग भनिन्छ । जसमा मणिचूदह, गोकर्णेश्वर, किलेश्वर, गोपालेश्वर, कुम्भेश्वर, गोपालेश्वर, फणिकेश्वर गर्तेश्वर र विक्रमेश्वर रहेका छन ।
महायानी परम्परा अन्ुसार बोधिसत्वलाई मान्ने गरिन्छ र बोधिसत्व नै बन्ने अभ्यास गरिन्छ । यसको लागि विभिन्न तिर्थस्थलहरुमा आएर तिर्थहरुको महत्वबारे जानकारी दिइ पंचशील, दशशील पालना गराउने र अभ्यासको रुपमा उपोसथ ब्रत बस्ने गरिन्छ। बौद्ध धर्मको स्ुरुवात शीलबाट हुन्छ । शील अकुशल कर्मतर्फ लागेको मनलाई बचाउने शील हो । त्यसैले शील पालना भए समाधी र प्रज्ञाको अभिवृद्धि हुन्छ । यही शील, समाधी र प्रज्ञाको अभिवृद्धिको लागि उपासथ ब्रत बस्ने गरिन्छ ।
महायान र बज्रयानमा संसारका सबै प्राणीहरुलाई निर्वाणमा पुर्याएर पछि मात्र आफूले निर्वाण लिने भनेर बोधिसत्व चर्चा गरिन्छ । यसभन्दा पनि फराकिलो क्षेत्र ओगटेर बज्रयानले बुध्द भवेयं जगतो हिताय अर्थात् जगतको हितको लागि बुद्ध नै हुने भन्दछ । जगतहितको कुराले व्यापक क्षेत्र ओगट्ने भएकोले बज्रयानमा सर्व प्रकारं जगतो हिताय अर्थात् सबै प्रकारले जगतको हित गर्ने सिद्धान्त अपनाइन्छ। बज्रयानको अभ्यासमा ब्रत, धारणी, मन्त्र, स्त्रोत्र, पाठ, जप, योग, आदीको अध्ययन र अभ्यास गरिन्छ ।