बटुक राज गिरि \ माउन्टेन टेलिभिजन एचडी ।
काठमाडौँ फाल्गुन १६ । मंसिर ४ पछि बनेको नयाँ समिकरण दुई महिनामै भत्कियो । राजनीति झन् अनिश्चित र अस्थिरतातर्फ धकेलिने अवस्था बन्यो । यो दुई महिनाबीच नेपालमा अमेरिकी, चिनियाँ, भारतीय र यूरोपेली युनीयनका अधिकारीहरुको दौडधूप चल्यो । उनीहरु खुलेरै नेपालको आन्तरिक मामलामा सक्रिय भए । नेपाली जनताले गरेको मतदानबाट निर्वाचित संसद र यसबाट निर्वाचित सरकार नै लाचार छाँयामा परिणत भयो । आन्तरिक बैठकमा शिर्ष नेताहरु नै कुनै विदेशी शक्तिको दबाब थेग्न नसकेको बताउन थाले । हुनपनि खुलेआम सजिलै विदेशी अधिकारीहरु शिर्ष नेताको घर र कार्यालय पुगेर दबाब दिए ।
समिकरण बदलियो । जिम्मेवार नेताहरुबीच टकराव बढाउन उनीहरु सफल भए । अमेरिकी, चीन, भारत, यूरोपेली युनीयन जस्ता शक्ति राष्ट्रहरुको आउजाउ र भेटघाटले सत्ता राजनीतिक परिदृश्य नै उल्टाएको विश्लेषणहरु हुन थालेका छन् । जुन नेपाली जनताको चाहना र भावना अनुकूल होइनन् । विदेशी भूमिका विगतमा पनि नभएको होइन। २०७४ सालको चुनावपछि बनेको बामपन्थी सरकारपनि लामो समय टिक्न सकेन जसको कारण थियो कुर्सिको लडाई । त्यसमा पनि विदेशीको भूमिका खुलेआम र नेपथ्य दुवैबाट थियो ।
कोही निम्तो पाएर आउँछन् त कोही नपाइकन । विना निम्तो विदेशी अधिकारीहरु देशमा आउनेसम्मको गतिविधि हुन थालेको छ । प्रचण्ड नेतृत्वको सरकार बनेको २ महिनाको अन्तरालमा थुप्रै विदेशी शक्तिकेन्द्र वा उनीहरूका प्रतिनिधिहरूले भेटघाटलाई तीव्र बनाइरहे । भारत, अमेरिका, चीन, वेलायत अनि युरोपीय युनियनका प्रतिनिधिहरूले प्रधानमन्त्रीदेखि, पार्टी अध्यक्ष, दलको नेतालगायत राष्ट्रिय राजनीतिका सबै सरोकारवाला व्यक्ति वा निकायहरूसँगको छलफल व्यापकता पायो । कूटनैतिक सम्बन्ध विस्तारको लागि गरिने औपचारिक भेटघाटहरू सामान्य प्रक्रियाहरू हुन् तर, एकपछि अर्को भेटघाटहरूको अन्तर्यमा भने रणनैतिक स्वार्थगत चलखेल लुकेको प्रष्ट देखिन्छ । पछिल्लो तीव्र भेटघाट र अनौठोरूपमा बढिरहेको राजनैतिक अन्यौलता र अस्थिरताबीच मुलुक पुन अस्थिरताको बाटोमा अग्रसर भएको छ । विभिन्न पार्टी, पात्र, प्रवृत्तिहरूमाथि खेलवाड गर्दै राजनीतिलाई आफ्नो चङ्गुलमा राख्ने दाउपेच गर्दा मुलुकले फेरी बाह्य हस्तक्षेपको सामना गर्नु परेको परराष्ट्र जानकारको बुझाई छ।
यसको सामना गर्ने सामथ्र्य नेतृत्वमा रहेका जिम्मेवार नेताहरुको पनि हुनुपर्छ । यसको सामना गर्न नसके देश अन्तहीन राजनीतिक अस्थिरताको भूमरीमा परिरहन्छ।




