मेरो नाममा ब्ल्याकमेलिङ गरे तत्काल कारबाही गर्छु : मन्त्री गिरी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

मेरो नाममा ब्ल्याकमेलिङ गरे तत्काल कारबाही गर्छु : मन्त्री गिरी

काठमाडौं, १५ फागुन । स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीले नेपालको स्वास्थ्य क्षेत्रमा इतिहासमै पहिलो पटक युगान्तकारी परिवर्तन गर्नेगरी काम शुरु गरेको बताउनुभएको छ । सोमवार स्वास्थ्य सेवा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले आफू स्वास्थ्य क्षेत्रको परिवर्तन गर्नकै लागि रोजेर स्वास्थ्य मन्त्रालयमा आएको दाबी गर्दै स्वास्थ्यमा भएका फोहोरलाई सफा गर्न आफू आएको बताउनु भयो । उहाँले स्वास्थ्य मन्त्रालय आकर्षणको मन्त्रालय भएपनि स्वच्छ मन लिएर मन्त्रालयको नेतृत्व लिने मन्त्रीहरु फर्किंदा दाग बोकेर फर्किने गरेको भन्दै स्वास्थ्य क्षेत्रको वास्तविक परिवर्तनका लागि आफू आएको बताउनु भयो । उहाँले आफ्नो नाममा कसैले ब्ल्याकमेलिङ गरेर अन्य धन्दा गरेको भए सूचना दिन र त्यसलाई आफूले तत्काल कारबाही गर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘नेपालको स्वास्थ्य क्षेत्रमा इतिहासमै पहिलो पटक युगान्तकारी परिवर्तन गर्नेगरी काम गर्दैछौँ । म स्वास्थ्य क्षेत्र रोजेर आएको हो । अझै यो आकर्षण मन्त्रालय मानिदैन । यहाँ हत्तपत्त कोही जान पनि तयार हुँदैन । आउँदा अत्यन्तै स्वच्छ छवि भएर मन्त्री आउँछन् जाँदा कालो दाग, धब्बा लागेर फर्किन्छन्, गल्ती नगर्दा पनि आरोप खेपेर फर्किने ठाउँ हो । तर पनि फोहोर सफा गर्न फोहोर भित्र पस्नुपर्छ । त्यो बुझेरै म यहाँ आएको हुँ । मेरो नेतृत्वले मलाई रोजाएर जिम्मेवारी दिएको हो । कालो चिया पनि मेरो गोजीबाट खाएर स्वास्थ्य क्षेत्रको परिवर्तन गर्छु भन्ने संकल्पका साथ आएको हुँ । काहीँबाट मेरो मन्त्रीको नाममा ब्ल्याकमेलिङ गरेको छ भने कसैले धन्दा गरेको छ भने कानमा सुनाइदिनुहोला, त्यस्ता धन्दा गर्नेलाई तत्काल कारबाही गर्नेछु ।’

मन्त्री गिरीले आगामी आर्थिक वर्षसम्ममा कम्तिमा ५ लाख सम्मको स्वास्थ्य बीमा गर्ने तयारी अनुसार काम भइरहेको बताउनु भयो । उहाँले अहिलेको स्वास्थ्य बीमाभित्र देशभरका मानिसहरु समेटिन नसक्ने भन्दै सेना, प्रहरी, सबै आम मानिस आउनेगरी स्वास्थ्य बीमा कार्यक्रम लागू गर्न लागेको बताउनु भयो । उहाँले जस्तोसुकै दीर्घ रोगीहरुको निःशुल्क उपचार गर्नेगरी स्वास्थ्य पूर्वाधार निर्माण हुन जरुरी रहेको बताउनु भयो । उहाँले उत्कृष्टता स्वास्थ्य बीमा कार्यक्रम लागू गर्न लागेको भन्दै बीमा गराउनेहरु घरदैलो गरेर बीमा गराउँदै हिँड्नुपर्ने अवस्थाको अन्त्य गर्ने दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘गरिब जनतालाई स्वास्थ्य सेवामा पहुँच स्थापित गर्नका लागि एउटा स्वास्थ्य बीमाको कार्यक्रम आवश्यक छ । अब यो बीमा गराउनेहरु घरदैलो गरेर बीमा गराउँदै हिँड्नुपर्ने अवस्थाको अन्त्य गर्नुपर्छ । कहाँ बीमा गर्न पाइन्छ भनेर मान्छेहरु खोज्दै आउने स्थितिको निर्माण गर्नुछ । त्यसका लागि कहाँका नीतिहरुमा रिभ्यु गर्नुपर्ने हो, रिभ्यु गरौँ, आकर्षक संसारका मोडेलहरु नेपालमा एप्लाइ गर्नुपर्छ । एउटा उत्कृष्टता स्वास्थ्य बीमा कार्यक्रम हामी लागू गर्दैछौँ । यो अहिलेको १ लाख बीमाले केही हुँदैन । यसले कोही यहाँ आउँदैनन् । सेना, प्रहरी, सबै आम मानिस आउनेगरी स्वास्थ्य बीमा कार्यक्रम लागू गर्दैछौँ । जस्तोसुकै दीर्घ रोग लागोस् त्यसको निःशुल्क उपचार हुनेगरी त्यसको आधार निर्माण गर्नुपर्छ । आउने आर्थिक वर्षको बजेटसम्म पुग्दा कम्तिमा ५ लाख सम्मको बीमा गर्नेगरी त्यसको आधार निर्माण गर्छौं ।’
मन्त्री गिरीले स्वास्थ्य सेवा ऐन छुट्टै ल्याउन आवश्यक सहयोग मन्त्रालयले गर्ने प्रतिवद्धता जनाउनु भयो । उहाँले स्वास्थ्य क्षेत्रका कर्मचारीहरुको वृत्ति विकासका लागि स्वास्थ्यका सबै राजमार्ग खुला हुनुपर्ने बताउनु भयो । उहाँले सातै प्रदेशमा डायलसिस सेवाका लागि प्रतिक्षा गर्नुपर्ने अवस्थाको अन्त्य गर्ने बताउनु भयो । मन्त्री गिरीले अबको तीन महिनाभित्र नै सातै प्रदेशमा डायलसिस सेवाका लागि सहज बनाउन पूर्वाधार बनाइसक्ने प्रतिवद्धता जनाउनु भयो ।

उहाँले भन्नुभयो, ‘संघीय निजामति ऐनको कुरा आयो, स्वास्थ्य सेवा ऐन छुट्टै चाहिन्छ भन्नुभएको छ, ल्याऔँ, कसरी ल्याउनुपर्छ ल्याऔं, स्वास्थ्यका कर्मचारीको वृत्ति विकासका लागि राजमार्गहरु खुला हुनुपर्छ, त्यो वातावरण हामीले बनाइदिनुपर्छ । वृद्धि विकासको वातावरण नबनाउने र एक ठाउँमा बसेर काम लगाइरहँदा मान्छेहरु काम गर्न राम्रोसँग सक्दैन । अब सातै प्रदेशमा डायलसिस गर्न प्रतिक्षा गर्नुपर्ने अवस्थाको अन्त्य गर्नेछौँ । त्यसको पूर्वाधार हामी यही दुई, तीन महिनामा सहज रुपमा गर्नेगरी सातै प्रदेशमा गर्दैछौँ ।’

मन्त्री गिरीले अस्पतालका सबै सेवाहरु डिजिटलाइट प्रणालीमा लैजाने दाबी गर्नुभयो । स्वास्थ्य सेवा दिवसको अवसरमा मन्त्रालयले ५ जना स्वास्थ्य सेवामा कार्यरत कर्मचारीहरुलाई सम्मान गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);