काठमाडौं, १४ फागुन । काठमाडौं उपत्यकामा यस वर्षको पहिलो हिउँदे वर्षा भएको छ । अपरान्हबाट काठडमाडौं र पोखरा उपत्यका र आसपासका जिल्लाहरुमा लगातार वर्षा भएको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार पोखरामा ३० मिलिमिटर र काठमाडौंमा एक मिलिमिटर वर्षा भएको छ । ताप्लेजुङमा ८.५ र जिरीमा १.५ मिलिलिटर वर्षा भएको छ ।
महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । उपत्यका र आसपासका जिल्लामा मेघगर्जनसहित पानी परेको छ । उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात भएको छ ।
वर्षासँगै चीसो बढेको छ । यसले जनजीवन प्रभावित भएको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार बागमती र गण्डकी प्रदेशका पहाडी भू भागमा आंशिक देखि सामान्य बदली रही देशका बाँकी भू -भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ । बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा मेघ गर्जनसहित वर्षाका साथै उच्च पहाडी तथा हिमाली भू भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको जनाइएको छ ।