काठमाडौँ, फाल्गुन १३ \ माउन्टेन टेलिभिजन एचडी। रुसले युक्रेनमाथि हमला गरेको एक वर्षमा दुर्वतर्फ तीन लाखभन्दा बढी मारिइसकेको तथ्यांक छ । युक्रेनी सेनाले रुसका एक लाख ४५ हजार सैनिक मारिएको दाबी गरेको छ । अमेरिकाले रुसी वागनर मर्सिनरिज मात्र ३० हजार मारिएको तथ्यांक सार्वजनिक गरेको छ। युक्रेनले युद्धमा एकलाख भन्दा बढी सैनिक गुमाइसकेको तथ्यांक जनवरी महिनामै खुलेको थियो । युक्रेन हमलामा रुसले २ लाख सैनिक परिचालन गरेको छ । तीन लाख सैनिक रिजर्भमा राखेर आवश्यकता अनुसार परिचालन भइरहेका छन् । रुससँग साँढे ८ लाख सैनिक छन् ।
त्यसबाहेक रिजर्भ फौज पनि त्योभन्दा बढी संख्यामा छन् । ५० हजार वागनर मर्सिनरीजका सैनिकहरु युक्रेन युद्धमा सहभागी छन् । ७ लाख युक्रेनी सेना युद्धमा होमिएका छन् । यस हिसाबले पनि रुस र युक्रेनले युद्धमा ठूलो धनराशी खर्च गरिरहेका छन् । संयुक्तराष्ट्रसंघीय मानवअधिकार कार्यालयले ठूलो संख्यामा सर्वसाधारण मारिएको तथ्यांक सार्वजनिक गरिसकेको छ । युद्धबाट झण्डै डेढ करोड मानिस विस्थापित भएका छन् । झण्डै दुई करोडलाई मानवीय सहयोगको आवश्यकता पर्दै आएको छ।
डेढ अर्ब डलरको पूर्वाधार क्षति भइसकेको तथ्यांक छ । किभ स्कुल अफ इकोनोमिक्सका अनुसार झण्डै डेढ लाख भवन ध्वस्त भइसकेका छन् । जसमा सवा लाखभन्दा बढी निजी घर र १५ हजारभन्दा बढी अर्पाटमेन्ट छन् । एक हजार स्वास्थ्य क्षेत्र ध्वस्त भएका छन् । १२ सयभन्दा बढी विद्यालय ध्वस्त भएका छन् । यूनेस्कोका अनुसार डेढ सयभन्दा बढी सम्पदा ध्वस्त भएका छन् जसमा पाँच सयको संख्यामा चर्च र मस्जिद पनि छन् । युद्धमा यति धेरै क्षति भइसकेपनि रुस र युक्रेन दुवै शान्तिका लागि टसमस भएका छैनन् । रुसले पश्चिमा देशहरुलाई आफूविरुद्ध लागेको आरोप लगाइरहेको छ । अमेरिकासहित नाटोसम्वद्ध देशहरु युक्रेनलाई हतियार र अन्य सहयोग उपलब्ध गराइरहेका छन् । पछिल्लो समय पश्चिमा देशहरुले युक्रेनलाई ट्यांक सहयोग पठाउन थालिसके । युक्रेनले भने लडाकु विमान पनि मागिरहेको छ जुन दिन पश्चिमा देशहरु आनाकानी गरिरहेका छन् । रुसले युक्रेनसँगको युद्धलाई पश्चिमासँगको युद्धका रुपमा लिएको छ । यसकारण पनि तेस्रो विश्वयुद्धको खतरा बढिरहेको छ ।
रुसले आणविक अस्त्र तयारी अवस्थामा राखेको सार्वजनिक गरिसकेको छ । रुस विश्वको सबैभन्दा शक्तिशाली आणविक राष्ट्र हुनुले पनि युक्रेन युद्ध जति लम्बिन्छ उति विश्वको सुरक्षाका लागि चुनौती बढिरहन्छ । अर्कोतर्फ, रुस युक्रेन युद्धले विश्वकै शक्ति सन्तुलनमा फेरबदल ल्याइरहेको छ । चीन र भारतले युद्धबाट अप्रत्यक्ष लाभ लिइरहेका छन् । पश्चिमा शक्तिसँग रुसको युद्धले नयाँ शक्तिहरुको उदयको वातावरण बनिरहेको छ । अति कम विकसित मुलुकहरु पेट्रोल र ग्याँसको मूल्यवृद्धिले पारेको प्रभावले समस्यामा छन् । युद्ध जति लम्बिन्छ धनीहरु झन् धनी र गरिबहरु झन् गरिब बन्ने अवस्था बन्दैछ । विश्वका अर्बपतिहरुको धन ह्वात्तै बढिरहेको छ । गरिबहरु झन् गरिब बनिरहेका छन् । युद्धको पीडा सुन्नेहरुलाई भन्दा भोग्नेहरुलाई नै बढी छ । उनीहरु युद्ध अन्तका लागि कामना गरिरहेपनि बलिया देशहरुको शक्तिशाली बन्ने होडवाजीले प्रताडित भइरहेका छन् ।