काठमाडौँ, फाल्गुन १० \ माउन्टेन टेलिभिजन एचडी । मिथिलाको चर्चित सांस्कृतिक उत्सव १५ दिनको मध्यमा परिक्रमा विधिवत रूपमा शुरु भएको छ । धनुषाको मिथिलाबिहारी नगरपालिकास्थित ठेरा कचुरीमा रहेको मिथिला बिहारी मन्दिरबाट निस्केको रामसीताको डोला जानकी मन्दिरमा दर्शन गराएर जनकपुरधामको दक्षिणी ढोकामा रहेको हनुमान गढीमा पुगेपछि परिक्रमाको विधिवत शुरु भएको हो । नेपाल र भारतका गरी १ सय ३३ किलोमिटर लामो यस पैदल यात्रामा हजारौं श्रद्धालु सहभागी हुन्छन् । परिक्रमामा सहभागी श्रद्धालुहरु सोमवार जनकपुरधाममा विश्राम गरेर मंगलबार बिहानै भारतको कल्याणेश्वरका लागि प्रस्थान गरेका छन् । मधेसका मुख्यमन्त्री सरोजकुमार यादवले परिक्रमाको डोला काँध लगाएर विधिवत शुरुवात गर्नुभएको हो । मुख्यमन्त्री यादवले आउने दिनमा मधेस सरकार मिथिला बिहारी क्षेत्रको विकास र परिक्रमा मार्गलाई सहज र सुविधायुक्त बनाउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
परिक्रमाको इतिहास उल्लेख नभएपनि मध्यमा परिक्रमाको व्यवस्था धनुषाको कचुरी मठले गरिरहेको छ। यही मन्दिरले अहिले पनि मिथिला मध्यमा परिक्रमाको नेतृत्व गर्ने गरेको छ। परिक्रमालाई व्यवस्थित पार्नका लागि कचुरी मठका तत्कालिन महन्थ लाल शरणले महत्वपूर्ण भुमिका रहेको बताइन्छ ।
हरेक वर्ष हुने परिक्रमामा भक्तजनले १५ दिनमा नेपालको १ सय ७ र भारतको २६ किलोमिटरको दुरी पैदल यात्रा गर्छन् । पवित्र धार्मिक स्थलहरूको परिक्रमा गर्दा पाप नाश हुनुका साथै पुण्य मिल्ने जनविश्वास छ । परिक्रमा अवधिभर सहभागीहरुले झाँकी, भजन, किर्तन पनि गर्छन् । नेपाल–भारत दुवै मुलुकको धार्मिक सांस्कृतिक एवं पारम्परिक सद्भावको प्रतिक बनेको परिक्रमा यात्राको क्रममा नेपालमा १३ तथा भारतमा २ गरी १५ विश्रामस्थल छन् ।