काठमाडौं, ८ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल सकिनै लागेको छ । नयाँ राष्ट्रपनि निर्वाचनका लागि आगामी फागुन २५ गते निर्वाचनको मिति तोकिएको छ । सत्तारुढ दलहरुबीच नै राष्ट्रपतिको उम्मेदवार कसलाई बनाउने भन्नेबारे सहमति जुट्न सकिरहेको छैन् ।
नेकपा माओवादी केन्द्रले राष्ट्रिय सहमतिको आधारमा चयन गर्नुपर्ने अडान लिएको छ भने सत्ताको ठुलो दल नेकपा एमालेले राष्ट्रपति आफ्नो पार्टीले पाउनुपर्ने दाबी गर्दै आएको छ । अर्कोतिर नेपाली कांग्रेसले पनि उम्मेदवार उठाउने र आफ्नो उम्मेदवारलाई समर्थन गर्न माओवादीलाई आग्रह गरको छ ।
यसै क्रममा भारतीय बुद्धिजीवी एवं नेपाल मामिलाका जानकार सुकदेव मुनि (एसडी मुनी)ले राष्ट्रपतिमा चार जनाको नाम उपयूक्त हुने सुझाव दिएका छन् । माओवादी केन्द्रले लिएको अडान राष्ट्रिय सहमतिमा सहमति जनाउँदै मुनिले राष्ट्रपतिमा दवेन्द्रराज पाण्डे, प्रा लोकराज बराल, पूर्वसभामुख दमन ढुंगाना, वरिष्ठ समाजसेवी अनुराधा कोइराला उपयुक्त हुने बताएका हुन् । उनले ती चार जना निर्दोष इमान्दारिता र राजनीतिक संवेदनशीलता भएका निष्पक्ष व्यक्तिहरू भएको समेत उल्लेख गरेका छन् । उनीहरुलाई राजनीतिक वर्गले मान्न योग्य हुने पनि उनको भनाइ छ ।