काठमाडौं, ७ फागुन । प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले सातौँ निर्वाचन दिवसका अवसरमा सन्देश जारी गर्दै निर्वाचन सञ्चालन र व्यवस्थापनक्रममा देखिएका समस्या तथा चुनौती सुधार्न दृढतापूर्वक अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
जारी सन्देशमा आयुक्त थपलियाले निर्वाचन व्यवस्थापनलाई उपयुक्त नीतिगत, कानुनी र संस्थागत संरचनासहित समयानुकूल बनाउन आयोग तत्पर रहेको उल्लेख गरेका छन्।
निर्वाचन कानुनलाई समयानुकूल बनाउन एकीकृत निर्वाचन कानुनको मस्यौदा तयार गरी पेस गर्न लागिएको जानकारी दिँदै उहाँले निर्वाचन पद, पैसा र पहुँचबाट प्रभावित नभई निष्ठा, विचार र सिद्धान्तबाट निर्देशित हुनुपर्ने धारणा राखेका छन् ।
आयुक्तले फागुन २५ गते र आउँदो चैत ३ गते हुने राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन सम्पन्न भएसँगै नेपालको संविधान जारी भएपछिको दोस्रो कार्यकालका लागि सबै आवधिक निर्वाचन पूरा हुने उल्लेख गरेका छन् ।
निर्वाचन लोकतन्त्रको सार्थक अभ्यास गर्ने सबैभन्दा सशक्त माध्यम भएकाले लोकतान्त्रिक प्रणालीअन्तर्गत सम्पन्न हुने आवधिक निर्वाचनले नै प्रतिनिधिमूलक शासन व्यवस्था मजबुत बनाउँने उनको विश्वास छ ।