काठमाडौं, ७ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ७३ औँ प्रजातन्त्र दिवसको अवसरमा सम्पुर्ण नेपालीलाई शुभकामना दिनुभएको छ । उहाँले प्रजातन्त्र स्थापनाका निम्ति जीवनको अमूल्य बलिदान गर्नुहुने महान् सहिदहरूप्रति भावपूर्ण श्रद्धा सुमन अर्पण गर्दै प्रजातान्त्रिक आन्दोलनका सम्पूर्ण योद्धाहरूप्रति उच्च सम्मान व्यक्त गर्दै शुभकामना दिनुभएको हो ।
प्रधानमन्त्री प्रचण्डले सरकार सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्यमा अगाडि बढ्दै बदलिएको राजनीतिक व्यवस्थाअनुरूप जनताको अवस्था बदल्न प्रतिबद्ध समेत रहेको सन्देशमा उल्लेख गर्नु भएको छ ।
नेपालले पाएको उपलब्धिका निम्ति २००७ सालको आन्दोलन, २०४६ सालको आन्दोलन, महान् जनयुद्ध, २०६२/०६३ को ऐतिहासिक जनआन्दोलन लगायत उत्पीडित वर्ग, जाति, क्षेत्र, लिङ्ग र समुदायका न्यायपूर्ण आन्दोलनहरूको निर्णायक भूमिका रहिआएको उहाँको भनाइ छ ।
दाहालले प्रजातन्त्र दिवसले राष्ट्रिय सहमतिमार्फत देशका चुनौतीहरू छिचोल्दै नवीनतम् सम्भावनाहरू प्राप्त गर्न हामी सबैलाई प्रेरणा प्रदान गर्न सकोस् भन्ने कामना गर्नुभएको छ ।