काठमाडौं, ७ फागुन । आज ७३औं प्रजातन्त्र दिवसको अवसरमा नेपालमा विभिन्न कार्यक्रम गरी मनाइँदै छ । नेपालमा प्रजातन्त्र दिवस २००७ सालको क्रान्ति सफल भएर १०४ वर्षे लामो निरङ्कुश जहानीया राणा शासन अन्त्य भएको सम्झनामा हरेक फागुन ७ गते मनाउँन थालिएको हो ।
राणाहरूको वंशीय तन्त्र होइन कि ‘प्रजा’हरुकै ‘तन्त्र’मा शासन चल्छ भन्ने उद्घोषसहित आजकै दिन मुलुकमा ‘प्रजातन्त्र’ छाएको थियो । विगतमा यो दिनको बेग्लै महत्त्व बोकेको फागुन ७ गते २०६३ वैशाखमा लोकतन्त्र स्थापनासँगै यो दिन ओझेलमा परेको हो । अहिले ‘प्रजातन्त्र’को ठाउँमा ‘लोकतन्त्र’ले ठाउँ लिएको छ ।
यद्यपी यो दिन नेपालको राजनीतिक र शासकीय इतिहासमा प्रजातन्त्रको बेग्लै महत्त्व छ । २००७ मा नेपाली काँग्रेसको नेतृत्वमा भएको सशस्त्र क्रान्तिलाई राजा त्रिभुवनले साथ दिएपछि मुलुकमा प्रजातान्त्रिक शासन व्यवस्था स्थापना गर्न सजिलो भएको थियो ।




