मुम्बई । मुम्बईको लोअर परेल क्षेत्रको एउटा भवनमा भएको आगलागीमा परी कम्तीमा १५ जनाको ज्यान गएको छ ।
लोकप्रिय कमला मिल्स रेष्टुराँ र किनमेल केन्द्र रहेको भवनमा गएराति १२ बजेपछि भएको आगलागीमा परी कम्तिमा १५ जनाको ज्यान गएको छ । मृत्यु हुनेमा अधिकांश रमाइलो गर्न भेला भएका महिला छन् । २८ औं जन्मदिन मनाइरहेकी एक महिलाको पनि मृत्यु भएको उनका हजुरबाले बताएका छन् ।
आगलागीमा परी घाइते भएका ६ जनालाई अस्पताल भर्ना गरिएको मुम्बईको विपद् व्यवस्थापन महाशाखाले जनाएको छ । कमला मिल्स पुनर्निर्माण गरिएको औद्योगिक हाता हो । उक्त क्षेत्रमा महँगा रेष्टुराँ, बार तथा कार्यालयहरु छन् । भारतीय सञ्चारमाध्यमहरुका अनुसार वान अबोभ रुफटप रेष्टुराँबाट आगलागी शुरु भएको थियो । आगलागीपछि कतिपय आगन्तुक शौचालयमा शरण लिन खोज्दा त्यहीं थुनिन पुगेका थिए ।




