काठमाडौं, २८ माघ । नेपालका प्रथम प्रधानमन्त्रीमा भीमसेन थापाको नाम आउँछ । तर, उनले सत्ता कब्जा गर्दा ठूलै रक्तपात मच्चाएका थिए । खोजी खोजी प्रतिपक्षीको वंश नै नाश गर्ने सम्मका हिंसात्मक काम गरे । महिलाहरुको अपमान गरे ।
१५ वैशाख वि.सं. १८६३ अर्थात् २५ अप्रिल १८०६ । रातको समयमा सरकारी ढुकुटीबाट १८ हजार निकाली अनियमितताको आरोप लागेका काजी त्रिभुवन प्रधानको घरमा छानविन हेतु भन्दै विशेष बैठक डाकियो । हालको रणमुक्तेश्वरको शिवालयस्थित त्यो भवन थियो बैठकस्थल । जहाँ दरबारका मुख्य भारदारहरुलाई अनिवार्य उपस्थितिको उर्दी जारी थियो । नजिकैको राजभवन हुँदाहुँदै त्रिभुवन प्रधानकै भवनमा खानपान गर्ने गरी रणबहादुर शाहले बैठक बोलाउन लगाउनुमा ठूलै षड्यन्त्र लुकेको थियो ।
विष्णुमती नदीमा काट्न भनी लगिइसकिएका त्रिभुवन प्रधानले बच्नका लागि घटनामा आफूमात्र दोषी नभई अरु भारदार पनि दोषी रहेको अर्जीपत्र लेखेर रणबहादुर शाहको हातमा पुगेपछि वध्यस्थलबाट फर्काइएर घरमै नजरबन्दमा राखिएका थिए । उनकै घरमा रातको समयमा बैठक डाकिनुले भारदारहरु सशंकित हुनु स्वाभाविक थियो । त्यसमाथि बैठक आर्थिक अनियमितताको विषयमा केन्द्रित हुँदै थियो । को को तारोमा पर्ने हुन् भन्नेमा गाइगुइ चलिसकेको थियो भारदारहरुबीच ।-बाँकी भिडियोमा