काठमाडौं, २८ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टीमा असन्तुष्टि बढ्दै गएको छ । पार्टी सरकारमा जाने कि नजाने विषयमा विवाद विगतमै भएको थियो । अध्यक्ष राजेन्द्र लिङ्देन नै उपप्रधानमन्त्री बनेर सरकारमा गएपछि पदलोलुपताको आरोप नै लाग्यो । त्यसमाथि गणतन्त्र, धर्मनीरपेक्षता र संघीयता ल्याउन मुख्य भूमिका खेल्ने नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारमा जानुले प्रश्नहरु उठे ।
राप्रपाको बैठक र भेलाहरुमा प्रचण्ड नेतृत्वको सरकारमा सहभागी भएकोमा नेताहरुले तिव्र असन्तुष्टि जनाउने गरेका छन् । उनीहरुले पार्टीको छविमा असर परेको सम्म भनिरहेका छन् । असन्तुष्टि भित्र भित्र चुलिँदा कतिपय नेताहरु केशरबहादुर बिष्टको समूहमा जान थालेका छन् ।
बिष्ट पछिल्लो समय दुर्गा प्रसाईंको अभियानसँग जोडिइसकेका छन् । राजसंस्थासहितको हिन्दूराष्ट्रको अभियानमा बिष्ट लामो समययता सक्रिय छन् । प्रसाईंसँग सामिप्यता बढाएपछि बिष्टको शक्ति पनि बढेको देखिदैछ । अहिले बिष्टको पक्षमा राप्रपामा रहेका पूर्वमन्त्री देखि जिम्मेवार नेताहरु पनि पुग्न थालेको बुझिएको छ ।
केशरबहादुर बिष्टको पूर्वराजा ज्ञानेन्द्र शाहसँग सामिप्यता पनि निकै बढेको छ । कुशल संगठक र वाक्कला पनि भएकाले बिष्ट लोकप्रीय पनि मानिन्छन् । २०४४ मा रङ्गशालामा भएको भागदौडमा भएको हताहतीमा जिम्मेवारी लिदै उनले नैतिकताका आधारमा शिक्षामन्त्रीबाट राजीनामा दिएको घटना इतिहासकै उदाहरणीय मानिन्छ ।