काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको पदको निरन्तरतासँग जोडिएको नागरिकता विवादमा सर्वोच्च अदालतमा आजदेखि अन्तिम सुनुवाइ सुरु भएको छ ।
लामिछानेले अमेरिकाको नागरिकता लिँदा नेपाली नागरिकता कायम रहेको वा नरहेको र अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता लिन फेरि आवेदन दिनुपर्ने थियो वा थिएन भन्ने विवाद सर्वोच्चको संवैधानिक इजलासमा विचाराधीन छ ।अमेरिका हुँदा त्यहाँको नागरिकता लिएका लामिछाने नेपाल आएर सञ्चारकर्म गरिरहँदा विवाद भएपछि त्यहाँको नागरिकता त्याग्नु भएको थियो । अमेरिकाको नागरिकता त्यागेपछि नेपालको नागरिकता फेरि कायम गर्ने प्रक्रिया पूरा नगरेको भनीे सांसद पद खारेज हुनुपर्ने मागदावी सहितको सर्वोच्च अदालतमा मुद्दा परेको हो ।
‘दोहोरो नागरिकता, नागरिकता परित्याग र पुन कायम गर्ने विषयमा यो विवाद महत्वपूर्ण नजीर हुने र दूरगामी महत्व राख्ने कानूनका ज्ञाताहरुको भनाइ छ । ५ जना न्यायाधीशले गर्ने संवैधानिक इजलासको फैसला पुनरावलोकन पनि नहुने भएकाले यो मुद्दामा आम चासो पनि छ । लामिछानेले अमेरिकी नागरिकता त्यागेपछि फेरि नागरिकता कायम गराउन निवेदन नदिएकाले पुरानो नागरिकता प्रमाणपत्र बैध नहुने दावी रिट निवेदकको छ । नागरिकता परित्याग नगरेको लामिछानेको दावी छ ।
अमेरिकाको नागरिकता लिएपछि नेपालको नागरिकता कायम नरहे पनि विदेशी त्याग्नासाथ स्वतः कायम हुने लामिछाने पक्षको तर्क छ ।