काठमाडौं, ५ माघ । प्रतिनिधि सभाको सभामुखको लागि आज निर्वाचन हुँदैछ । सभामुख पदका लागि दुई जनाको उम्मेदवारी परेको छ । नेकपा एमालेका उम्मेदवार देवराज घिमिरे र नेपाली कांग्रेसकी ईश्वरी न्यौपाने प्रतिस्पर्धामा छन् । घिमिरे झापाका हुन् । कांग्रेसकी न्यौपाने समानुपातिकतर्फकी सांसद हुन् । २७५ सदस्यीय प्रतिनिधिसभामा सत्ता गठबन्धनबाट उम्मेदवारी दिएका घिमिरेलाई एमालेसहित माओवादी केन्द्र, रास्वापा र राप्रपासहित बहुमतको समर्थन हुने देखिएको छ ।
न्यौपानेको पक्षमा कांग्रेस र नेकपा एसका सांसदको मात्रै समर्थन हुने देखिन्छ । कांग्रेसले समाजवादीसहित जसपा, लोसपा र नगरिक उन्मुक्ति पार्टीसँग छफलफल गरेर सरकार बाहिरका दलबिच मोर्चाबन्दी गर्न खोजेको थियो । तर जसपा, लोसपा र नागरिक उन्मुक्ती पार्टीका सांसदहरु दुवै तिर प्रस्तावक र समर्थक बस्न मानेनन् । उनीहरुले कस्लाई मतदात गर्नछन् ? चासो बनेको छ । सभामुखमा काँग्रेस र नेकपा एमालेबीच प्रतिस्पर्धा हुने भएपछि महत्वका साथ हेरिएको छ । सभामुखमा उम्मेदवारी दिएका एमाले सांसद देवराज घिमिरेले आफ्नो जित निश्चित रहेको दाबी गर्छन् ।
उता बिपक्षी दलबाट उम्मेदवार दिनुभएकी नेपाली कांग्रेसकी सांसद न्यौपानेले पनि आफ्नो जीतको आधार तयार भइसकेको दाबी छ । एमाले सांसद घिमिरेको उम्मेदवारीको प्रस्तावकमा एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ र समर्थकमा माओवादी नेता हितराज पाण्डे, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष तथा उपप्रधानमन्त्री रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा उपप्रधानमन्त्री राजेन्द्र लिङ्देन रहेका छन्। त्यसैगरी कांग्रेस सांसद न्यौपानेको उम्मेदवारी प्रस्तावकमा कांग्रेस महामन्त्री विश्व प्रकाश शर्मा र समर्थकमा एकीकृत समाजवादीका नेता प्रकाश ज्वाला रहेका छन् ।
सभामुख उम्मेदवारले आफ्नो जीत सुनिश्चित भएको दाबी गरेपनि संसदको अंकगणितले रातारात कुनै नयाँ राजनीतिक घटनाक्रम विकास नभए घिमिरेको पल्लाभारी देखिन्छ । तर, यो निर्वाचनले राष्ट्रपति उपराष्ट्रपतिलगायत महत्वपूर्ण बाँकी पदहरु कस्को पोल्टामा पर्ने हो आँकलन गर्न थप आधार प्रदान गर्ने नै छ ।