काठमाडौं । नेकपा (एमाले) का सांसदका रघुवीर महासेठले नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिनुको रहस्य माघ महिनाभित्रै खुल्ने बताएका छन् ।
आज (शनिबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता महासेठले कांग्रेसले केही आशाका कारण प्रतिपक्षीको गरिमालाई लत्याउँदै प्रधानमन्त्रीलाई समर्थन गरेको बताएका हुन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिएसँगै नेपाली कांग्रेस अब राजनीतिक, संवैधानिक र नैतिक रूपमा प्रतिपक्षी दल नभएको बताएका छन् । ‘कांग्रेसले के उद्देश्य राखेर प्रधानमन्त्रीलाई विश्वासको मत दिएको भन्ने कुरा माघभित्रै सबै छर्लङ् हुन्छ,’उनले भने ।
महासेठले एमालेको पहल र माओवादीको सहयोगमा राजनीतिलाई कांग्रेसको दलदलबाट बाहिर निकाल्ने काम भएको भन्दै यसको रिजल्ट ६ महिनापछि थाहा हुने बताए ।
उनले कांग्रेस अब प्रतिपक्षका लागि राजनैतिक, नैतिकता र संवैधानिक रूपमा फेल भएको टीप्पणी गरेका थिए । साथै, कांग्रेसले राष्ट्रपति र सभामुख पद मागे कांग्रेस सिद्दिने बाटोमा पुगेको बुझ्नुपर्ने टीप्पणी गरे ।