काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलबीच भेटवार्ता भएको छ ।
शनिबार नेपाललाई भेट्न नेता पौडेल एकीकृत समाजवादीको पार्टी कार्यालय आलोकनगर पुग्नुभएको थियो । भेटमा दुई नेताबीच पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा करिब एक घण्टा छलफल भएको थियो । प्रधानमन्त्रीलाई विश्वासको मत दिएको विषयदेखि सभामुख र राष्ट्रपति निर्वाचन लगायत विषयमा छलफल भएको बताइएको छ ।
आफ्नै नेतृत्वको गठबन्धन जोगाउन नसकेको कांग्रेस नेताहरु फेरि माओवादी केन्द्रसँग सम्बन्ध सुधारेर गठबन्धन बनाउने प्रयास गरिरहेका छन । सभापति शेरबहादुर देउवाले पदाधिकारीहरुसँग छलफल गरी सभामुखको निर्वाचनमा बहुमत जुटाउन अन्य दलसँग छलफल र सहकार्यको प्रयास गर्नुभएको छ ।
नेताहरुका अनुसार सभापति देउवाले त्यसका लागि नेता पौडेललाई पनि सक्रिय बनाउनुभएको हो । सरकारलाई काँग्रेसले विश्वासको मत दिएको विषयलाई पौडेलले कोर्स करेक्सनको संज्ञा दिनुभएको छ । राष्ट्रपति निर्वाचनका लागि पनि काँग्रेसले माओवादीसहितका दलहरुसँग छलफलको तयारी थालेको छ ।