निर्वाचन वहिष्कार गर्न मतदातालाई नभाल्नीको आव्हान
एजेन्सी, ११ पुष । रुसमा आगामी वर्ष हुने राष्ट्रपतीय निर्वाचनमा प्रमुख विपक्षी नेता एलेक्से नभाल्नी उम्मेदवार बन्न नपाउने भएका छन् ।
निर्वाचन आयोगले एउटा फौजदारी अभियोगमा दोषी ठहराइएकाले नभाल्नी राष्ट्रपतिय निर्वाचनमा उम्मेदवार बन्न नपाउने भएका हुन् । निर्वाचन आयोगकी प्रमुख एला पाम्फिलोभाले फौजदारी अभियोगमा दोषी ठहराइएकाले नभाल्नी उम्मेदवार बन्न अयोग्य भएको बताउनुभयो । नभाल्नीलाई सन् २०१३ मा किरोभ राज्यका गभर्नरको सल्लाहकार हुँदा सरकारी काठ कम्पनीबाट करिब पाँच लाख डलर बराबरको काठ घोटाला गरेकोमा दोषी ठहराइएको थियो ।
आयोगले उम्मेदवार बन्न अयोग्य भएको बताएसँगै नभाल्नीले मतदातालाई निर्वाचन वहिष्कार गर्न आव्हान गरेका छन् । उनले आफूले भाग नलिने निर्वाचन अवैध हुने दाबी गरे । ४१ वर्षीय नभाल्नी रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका कट्टर आलोचक हुन् । उनले पुटिनमाथि रुसलाई व्यक्तिगत लाभको स्रोत बनाएको आरोप लगाएका छन् ।