काठमाडौं । पूर्व मन्त्री रामवीर मानन्धरले प्रभु साहको नेतृत्वमा रहेको आम जनता पार्टीलाई साथ दिने भएका छन् । नेकपा एमालेका पुर्व नेता मानन्धर र साहबीच आज माछापोखरीस्थित मानन्धर निवासमा भेटघाट भएको हो ।
कुनै समय एकै पार्टीमा रही लामो समयसम्म काम गर्दै आएका द्धय नेताबीच आजको भेटमा मिलेर पार्टी खोल्ने र संगठित रुपमा पार्टीलाई अगाडी बढाउनेबारे छलफल भएको स्रोतले जनाएको छ । २०७७ सालमा प्रभु साह शहरी विकास मन्त्री हुँदा मानन्धर राज्यमन्त्री थिए ।
काठमाडौं–७ बाट दुईपटकसम्म निर्वाचित भएका मानन्धर यसपटकको चुनावमा भने सोही क्षेत्रबाट पराजित भए । मानन्धरले एमालेले टिकट नदिएपछि पार्टी परित्याग गरी स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।
त्यस्तै, गत मंसिर ४ गते सम्पन्न भएको निर्वाचनमा साहले एमालेबाट चुनावको टिकट लिएर रौतहटबाट स्वतन्त्र उम्मेदवारी दिएर चुनाव जितेका थिए । केही दिन अगाडी साहले नयाँ पार्टी स्थापना गरेका छन् ।




