बटुकराज गिरी/ माउण्टेन टेलिभिजन एचडी । नेपालका कम्युनिष्ट पार्टी कतिबेला जुट्छन र फुट्छन् त्यसको कुनै टुगों छैन । जुन पछिल्लो राजनीतिक घटना क्रमले प्रष्टाउँछ । विश्वमा कम्युनिष्ट आन्दोलन कमजोर हुँदै गइरहेको बेला नेपालमा भने दुई ठुला कम्युनिष्ट पार्टी फेरि एकै ठाउँमा उभिँदा मुलुकको शासनसत्ता चलाउने अवसर पाएका छन् । यो अवसर सामान्य सहकार्य वा एकता कुन हदसम्म पुग्छ सबैले चासो राखेका छन् ।
नेपालमा कम्युनिस्ट आन्दोलनको इतिहास सात दशक भन्दा लामो छ । २००६ सालमा कम्युनिष्ट पार्टीको स्थापना भएदेखि अहिलेसम्म हेर्ने हो भने, कम्युनिष्टहरु दर्जनौ पटक फुट्दै जुट्दै यहाँसम्म आइपुगे । विश्वमा कमजोर हुँदै गएको कम्युनिष्ट आन्दोलन पछिल्लो समय नेपालमा फेरी शक्तिका रुपमा उदाएको छ । आफ्नैले आफ्नालाई सक्काउने प्रवृति हावी हुँदा आफनै नेतृत्वको सरकारलाई सत्ताच्युत गर्दै विपरित ध्रुवका दलहरु संगसाँठगाँठ गरेका कम्युनिष्टहरु त्यता भविष्य नदेखेर हो या अचानक आएको अवसरले फेरी हात मिलाएर मुलुकको बागडोर सम्हाल्ने स्थानमा पुगेका छन् । आफ्नै पार्टी नेतृत्वको सरकारविरुद्ध घेराबन्दी गर्ने कम्युनिष्टहरु विगतमा विभाजनको अन्त्यहीन शृंखलाबाट गुज्रिएको इतिहास ताजै छ । ७० बर्षे लामो इतिहासमा पनि सांगठनिक र वैचारिक रूपमा स्पष्ट भएर अघि बढ्न नसक्दा विभाजनमा शक्ति देख्ने मनोदशा र गुटबन्दीमा रमाउने मनोरोगबाट मुक्त हुन नसकेका नेपाली कम्युनिष्टहरु अहिले सबैलाई आश्चर्य बनाउँदै सरकारको नेतृत्व गरिरहेका छन । कतिपयले यसलाई कम्युनिष्टहरुको अवसरका रुपमा लिएका छन ।
केही दिन अघिसम्म नेपाली राजनीतिमा प्रतिपक्षको भूमिकामा बस्न तयारी रहेको एमाले अहिले राष्ट्रिय राजनीतिको केन्द्रविन्दु बनेका छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको सर्जिकल स्ट्राइकसँगै फरक सिद्धान्त बोकेका ७ दल एक ठाउँमा उभिएपछि एमाले वर्तमान सरकारको मियो बनेको छ । त्यतिमात्रै होइन छिन्नभिन्न दलहरुलाई एकै सूत्रमा केन्द्रीकृत गर्ने क्षमता ओलीले पुष्टि पारेका छन । संसारकै उत्कृष्ट व्यवस्थामा रहेको नेपालमा अहिले ठुला कम्युनिष्ट दलहरु उभिएर राज्यसत्ता सञ्चालन गर्ने मुल जिम्मेवारी पाएका छन । फरक विचार सिद्धान्त र उदेश्य बोकेका दलहरु समाहित यो सरकारलाई काम गर्न भने त्यति सहज छैन ।
नेकपा कालमा आफ्नै अध्यक्ष ओलीको विरोधमा उत्रिएर कांग्रेस सभापति शेरबहादुर देउवालाई सत्ताको साँचो सुम्पिएका दाहालसँगको ओलीको आगामी सहयात्रा कसरी बढ्छ चासोका साथ हेरिएको छ । नेकपाको विभाजनपछि निराश देखिएका कम्युनिस्ट कार्यकर्ता यतिबेला उत्साहित छन् । अहिले वाम शक्तिबीच तालमेल मात्र नभए एकता नै हुनुपर्छ भन्ने आवाज पनि उठ्न थालेको छ । कार्यकर्ताहरुको आवाजलाई शीर्ष नेताहरुले सुन्लान या फेरिएको राजनीतिक समीकरणलाई केही बर्षको लागि सत्ताको स्वाद चाख्ने माध्यम मात्र बनाउलान त्यो भने हेर्न बाँकी नै छ ।