‘सत्ता लिप्साका कारण गठबन्धन टुट्यो’ | ईमाउण्टेन समाचार

Our Network

असार २२ २०८१, शुक्रबार

‘सत्ता लिप्साका कारण गठबन्धन टुट्यो’

काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर पक्षका शीर्ष नेताहरूले सत्ता लिप्साका कारण गठबन्धन टुटेको निष्कर्ष निकालेका छन् ।

गठबन्धन भत्किएपछि उत्पन्न राजनीतिक घटनाको प्रारम्भिक समीक्षा गर्न नेता शेखर कोइरालाको सचिवालयमा बुधबार बसेको बैठकमा उनीहरुले सभापति शेरबहादुर देउवाको सत्ता लिप्साका कारण गठबन्धन टुटेको निष्कर्ष निकालेका हुन । बैठकमा नेताहरुले संसदीय दलको निर्वाचनदेखि सत्ता बहिर्गमनसम्मको घटनामा आ–आफना दृष्टिकोणहरू प्रस्तुत गरेका थिए । सभापति देउवाको टिम अपरिपक्क देखिएको ठहर गर्दै कोइराला पक्षका नेताहरुले गठबन्धनको बैठकमा पार्टीका पदाधिकारीहरुलाई समेत सहभागी नगराएकोमा आक्रोश पोखेका थिए ।

गठबन्धन भत्किनुको जिम्मेवारी संकीर्ण र सीमित घेरामा रहेकाहरुले लिनुपर्ने सहभागीहरुको भनाइ थियो । बैठकपछि सहमहामन्त्री जीवन परियारले पुस १० गतेको घटनालाई काँग्रेसले सामान्य रुपमा लिन नमिल्ने बताउनुभयो । देशकै ठूलो पार्टी भएर पनि सरकारको नेतृत्व गर्न नसकेको कुराले पार्टीमा ठूलो असर पारेको भन्दै उहाँले केन्द्रिय कार्यसमितिको बैठकमा यसको समीक्षा हुन जरुरी रहेको उल्लेख गर्नुभयो ।

पार्टीका अर्का सहमहामन्त्री बद्री पाण्डेले पार्टी पंक्तिमा निराशा छाएको कुराले जनतामा पनि निराश छाएको भन्दै राजनीतिक घटनाक्रमबारे केन्द्रिय कार्यसमितिको बैठकमा गम्भीर समीक्षा हुनुपर्ने बताउनु भयो । काँग्रेसले अबका दिनमा निराशा र असफलतालाई चिर्दै प्रतिपक्षी भुमिकामा कसरी प्रभावशाली बन्ने बारेमा सोच्नुपर्ने उहाँको भनाइ थियो । सहमहामन्त्री पाण्डेले पार्टी पंक्तिमा र जनस्तरमा विशेष महाधिवेशन बोलाउने र पार्टी सभापतिले राजिनामा दिनुपर्छ भन्नेबारेमा माग उठेको भएपनि कार्यसमितिको बैठकमा यसबारेमा चर्चा हुने बताउनु भयो ।

बैठकमा काँग्रेस उपसभापति धनराज गुरुङ, महामन्त्री गगनकुमार थापा, नेता शेखर कोईराला लगायतका नेताहरुको उपस्थिति रहेको थियो । अर्का महामन्त्री विश्वप्रकाश शर्मा र नेता प्रदिप पौडेल भने बैठकमा जानु भएन ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);