काठमाण्डौँ, ४ पुस । नेपाली कांग्रेसले राष्ट्रियसभा निर्वाचनसम्बन्धी अध्यादेशलाई लिएर राष्ट्रपति विद्यादेवी भण्डारीको भूमिकामाथि प्रश्न उठाएको छ ।
कांग्रेसले सरकारले दुई महिनाअघि सिफारिस गरेको अध्यादेश जारी गर्न अटेरी गरेको भन्दै राष्ट्रपति भण्डारीको भूमिकामाथि प्रश्न उठाएको हो । अध्यादेश जारी गर्नुको साटो होल्ड गरेर राष्ट्रपतिले आफूलाई संविधानको विपक्षमा उभ्याएको कांग्रेसको ठहर छ । प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका शीर्ष नेतासँगको छलफलमा राष्ट्रपतिले एमालेका नेताहरुको उक्साहटमा लागेर अध्यादेश रोकेको आरोप लगाए ।
उनले पार्टीका शीर्ष नेताहरुलाई बालुवाटारस्थित निवासमा बोलाएर छलफल गरी एमाले अध्यक्ष केपी शर्मा ओलीको दबाबमा राष्ट्रपतिले अध्यादेश होल्ड गरेको आरोप लगाएका हुन् । छलफलमा सहभागी नेताहरुले पनि प्रदेश र प्रतिनिधिसभाको निर्वाचनबाट ठूलो दल बनेपछि एमालेले राष्ट्रपतिलाई अध्यादेश रोक्न उक्साएको बताएका छन् ।
उनीहरुले राष्ट्रिय सभाको निर्वाचन नभएसम्म नयाँ सरकार गठनको बाटो अगाडि नबढ्ने भन्दै सत्ता हस्तान्तरण नगर्न प्रधानमन्त्री देउवालाई आग्रह गरेका छन् ।