फुटेका कम्युनिस्टहरु खुम्चिए, काँग्रेस उक्सियो ( भिडियो रिपोर्ट ) | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

फुटेका कम्युनिस्टहरु खुम्चिए, काँग्रेस उक्सियो ( भिडियो रिपोर्ट )

प्रतिमा धरेल माउटेण्ट टेलिभिजन। सोमबार बिहान दोलखाको नतिजा सार्वजनिक भएसँगै प्रतिनिधिसभाको प्रत्यक्षतर्फको १ सय ६५ वटै निर्वाचन क्षेत्रको टुंगो लागेको छ। समानुपातिक तर्फकोे मतगणना भने अझै जारी छ। यसपटकको निर्वाचनमा ठूला दलहरुको सीट संख्यामा भने उलटपूलट देखियो ।

कांग्रेसले भर्खर सम्पन्न प्रतिनिधिसभाको प्रत्यक्षतर्फ ९१ क्षेत्रमा उम्मेदवार उठाएको थियो जसमध्ये ५७ सिट हात पारेको छ । २०७४ को निर्वाचनमा कांग्रेसले २३ सिट मात्रै जितेको थियो । अघिल्लो निर्वाचनभन्दा यसपटक काँग्रेसले ३४ सिट बढाएको छ । २०७४ मा ८० सिट जितेको एमालेको सिट सँख्या ३६ले घटेर यसपटक ४४ सिटमा खुम्चिएको छ । एमालेका उम्मेदवारहरु एक सय ४१ स्थानबाट चुनावमा होमिएका थिए । माओवादी केन्द्रले २०७४ मा ३६ स्थानमा विजयी हासिल गरेको थियो तर यसपटक ठीक आधा, १८ सिटमा मात्रै सिमित रह्यो गठबन्धनको सिट वाँडफाटमा माओवादीको भागमा ४६ क्षेत्र परेको थियो । दुई मधेस केन्द्रित दल लोसपा र जसपाको पनि सिट संख्या घटेको छ।

लोसपा र जसपाले क्रमशः ५१ र ७९ निर्वाचन क्षेत्रमा आफ्ना उम्मेदवार उठाएको थियो । २०७४ मा ११ सिट जितेको राष्ट्रिय जनता पार्टीको रुपमा निर्वाचन लडेको अहिलेको लोसपाले ४ सिट मात्रै जितेको छ। २०७४ मा संघीय समाजवादी फोरमको रुपमा निर्वाचनमा होमिएको उपेन्द्र यादव नेतृत्वको दलले १० सिट जितेको थियो तर यसपटक जसपाको रुपमा निर्वाचन लडेको सोही दलको नाममा ७ सिट मात्रै छ। जसपा अध्यक्ष उपेन्द्र यादवनै यस निर्वाचनमा पराजय भोग्न बाध्य हुनुभयो । २०७४ मा एकएक सिट जितेका नेमकिपा र राष्ट्रिय जनमोर्चाले पहिलेकै स्थानमा यथावत रहे । त्यतिबेला एक सिट जितेको राप्रपाले अहिले ७ सिट जितेको छ। २०७४ मा स्वतन्त्र उम्मेदवारको १ सिटमात्रै रहेकोमा यसपटक ५ जनाले जितेका छन् । एमाले विभाजन भएर गठन भएको एकीकृत समाजवादीले १० सिट जितेको छ । विभाजनका बेलामा ११ जना प्रत्यक्ष निर्वाचित सांसद एकीकृत समाजवादीतिर लागेका थिए । सो संख्यालाई आधार मान्ने हो भने पनि उसलाई १ सिट घाटा लागेको देखिन्छ।

नयाँ दलहरु राष्ट्रिय स्वतन्त्र पार्र्टीले ७, नागरिक उन्मुक्ति पार्टीले ३ र जनमत पार्र्टीले १ सिट जितेका छन् । समानुपातिकतर्फको मत गणना भने अझै जारी छ। पछिल्लो विवरणले सात वटा दल मात्रै राष्ट्रिय दल बन्ने सम्भावना देखिएको छ । एमाले, कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जसपा र जनमत पार्टीले मात्रै तीन प्रतिशत थ्रेसहोल्ड कटाएर राष्ट्रिय दलको मान्यता पाउने देखिन्छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);