काठमाडौं, १७ मंसिर। अमेरिका र यूरोपेली युनीयनले रुसको तेलमाथि आउँदो हप्ताबाट प्रतिबन्ध लगाउने तयार थाल्दै गर्दा विश्व अर्थतन्त्रमा प्रभावहरु देखिन थालेको छ।
पश्चिमा देशहरुले रुसको तेलको मूल्य सीमा अधिकतम् ६० डलर प्रति ब्यारल तोकिदिएपछि प्रभावहरु पर्न थालेको हो। रुसले सक्दो बढी तेल उत्पादन गरिरहेको खबर अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले दिएका छन् ।
अर्कोतर्फ, रुसी तेल विश्व बजारमा पुग्न नसकेमा मूल्य झन् बढ्ने अनुमानहरु गर्न थालिएको छ। तेल र ग्याँसमा बढी निर्भर रुसको अर्थतन्त्रलाई कमजोर पार्ने उद्देश्यले पश्चिमा देशहरुले पछिल्लो रणनीति बनाएका हुन् । तर, इकोनोमिष्टको रिपोर्टमा रुसले मूल्य सीमा तोकेर लागू गरिएमा रुसले निर्यात नै घटाउने उल्लेख गरिएको छ। यसले विश्व बजारमा तेलको मूल्यमा असर पर्न सक्छ। तर, चीन, भारत र इन्डोनेशियाले अमेरिका र यूरोपेली युनीयनको रुसी तेल प्रतिबन्धलाई स्वीकार नगर्ने इकोनोमिष्टले लेखेको छ।
विश्व बजारमा पेट्रोलियम पद्धार्थको मूल्यमा गिरावट आइरहँदा अमेरिकासहित पश्चिमा देशहरुको पछिल्लो कदमले नयाँ उतारचढाव आउने विश्लेषण गर्न थालिएको छ।




