निर्वाचनमा १८ जना मन्त्री विजयी | ईमाउण्टेन समाचार

Our Network

पुष ३ २०८१, बुधवार

काठमाडौँ, १ पुस । वर्तमान मन्त्रिपरिषद्मा सहभागी ४२ मन्त्रीमध्ये निर्वाचनमा भाग लिएका २४ मन्त्री पराजित हुनुभएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा होमिएका प्रधानमन्त्रीसहितका मन्त्रीमध्ये १८ जनामात्र जनमत परीक्षणमा पुनः सफल हुनुभएको हो । प्रधानमन्त्री तथा विना विभागीयसहित अहिले मन्त्रिपरिषद्मा ६३ सदस्य हुनुहुन्छ ।
प्रधानमन्त्री र चार उपप्रधानमन्त्रीसहित ४२ मन्त्री चुनावी दौडमा रहनुभएको थियो । यसमा दुई उपप्रधानसहित २४ मन्त्रीले पराजय भोग्नुभएको हो । निर्वाचनमा विजयी हुनेमा अधिकांश नेकपा माओवादी केन्द्रका विना विभागीय मन्त्री हुनुहुन्छ ।
निर्वाचनमा उपप्रधान एवं ऊर्जामन्त्री कमल थापा मकवानपुर १ बाट पराजित हुनुभएको छ । अर्का उपप्रधानमन्त्री गोपालमान श्रेष्ठ पनि स्याङ्जा २ बाट पराजित हुनुभयो । जनमत परीक्षणमा उपप्रधानमन्त्री विजयकुमार गच्छदार र विना विभागीय उपप्रधानमन्त्री कृष्णबहादुर महरा सफल हुनुभयो । गच्छदार सुनसरी ३ र महरा दाङ २ बाट निर्वाचन हुनुभएको हो ।
यस्तै, श्रम तथा रोजगारमन्त्री फरमुल्लाह मन्सुर, स्वास्थ्यमन्त्री दीपक बोहोरा, उद्योगमन्त्री सुनीलबहादुर थापा पनि पराजित हुनुभयो । मन्सुर बारा ३, बोहोरा रुपन्देही ३ र थापा धनकुटाबाट पराजित हुनुभएको हो ।
यस्तै, वन तथा भूसंरक्षण मन्त्री विक्रम पाण्डे, भूमिसुधार मन्त्री गोपाल दहित र सूचना तथा सञ्चारमन्त्री मोहन बस्नेत पनि चुनावी परीक्षणमा असफल हुनुभयो । पाण्डे चितवन ३, दहित बर्दिया २, र बस्नेत सिन्धुपाल्चोक १ बाट परानित हुनुभएको हो ।
बहालवाला न्याय, कानुन तथा संसदीय व्यवस्थामन्त्री यज्ञबहादुर थापा, महिला तथा बालबालिका मन्त्री विक्रमबहादुर थापा, भौतिक पूर्वाधार तथा यातायातमन्त्री बीरबहादुर बलायर पनि चुनावी दौडमा असफल हुनुभयो । कानुनमन्त्री थापा कास्की १, बालबालिकामन्त्री थापा काठमाडौँ ७ र भौतिक पूर्वाधारमन्त्री बलायर डोटीबाट पराजित हुनुभएको हो ।
सहकारी तथा गरिवी निवारणमन्त्री अम्विका बस्नेत, सिँचाइमन्त्री रामकृष्ण यादव र खानेपानी तथा सरसफाइमन्त्री महेन्द्र यादव पनि जनमत परीक्षणमा असफल हुनुभयो । बस्नेत काठमाडौँ ३, रामकृष्ण धनुषा २, महेन्द्र धनुषा ४ बाट पराजित हुनु भएको हो ।
११ जना राज्यमन्त्री पनि पराजित
बहालवाला ११ राज्यमन्त्रीको परिणाम पनि पराजय नै रह्यो । माओवादी केन्द्रबाट काँग्रेसमा प्रवेश गरी पशुपंक्षी विकास राज्यमन्त्री रहनुभएका शम्भुलाल श्रेष्ठ पनि सर्लाही १ बाट पराजित हुनुभयो । भौतिक पूर्वाधार राज्यमन्त्री सीता गुरुङ पनि तेह«थुमबाट पराजित हुनुभयो । यस्तै, शिक्षा राज्यमन्त्री शेषनाथ अधिकारी चितवन २ बाट पराजित हुनुभयो ।
वाणिज्य राज्यमन्त्री नरबहादुर चन्द बैतडीबाट पराजित हुनुभयो । खानेपानी तथा सरसफाइ राज्यमन्त्री अव्दुल रज्जाक गद्दी पनि रुपन्देही १ बाट पराजित हुनुभयो । सिँचाइ राज्यमन्त्री अमरसिंह पुन, कानुन राज्यमन्त्री दिलमान पाख्रिन, अर्थ राज्यमन्त्री उदय शमशेर राणा पनि जनमत परीक्षणमा असफल हुनुभयो । पुन रोल्पाबाट, पाख्रिन धादिङ २ तथा राणा ललितपुर १ बाट पराजित हुनुभएको हो । सहकारी तथा गरिवी निवारण राज्यमन्त्री चम्पादेवी खड्का बागलुङ १ बाट पराजित हुुनुभयो ।
‘सबै विना विभागीय मन्त्री विजयी’
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा भाग लिनुभएका बिना विभागीय मन्त्रीहरु भने सवै विजयी हुनुभएको छ । उपप्रधान एवं विना विभागीय मन्त्री कृष्णबहादुर महरा, प्रभु साह, जनार्दन शर्मा, गिरिराजमणि पोखरेल आ–आफ्नो निर्वाचन क्षेत्रबाट विजयी हुनुभयो । यस्तै, टेकबहादुर बस्नेत, शिवकुमार मण्डल, महेन्द्रबहादुर शाही, आशा कोइराला र शन्तकुमार थारु विजयी हुनुभयो ।
शाही र कोइराला प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको हो । प्रदेश ६ को मुख्यमन्त्रीको दावीसहित शाही विजयी हुनुभएको हो । यसैगरी कोइराला तनहुँ क्षेत्र नम्बर २ को प्रदेश ९क०बाट काँग्रेसका प्रदीप पौडेललाई पाँच मतको अन्तरले पराजित गर्दै विजयी हुनुभयो । विना विभागीय राज्यमन्त्री श्यामकुमार श्रेष्ठ पनि रामेछापबाट विजयी हुनुभयो । गोरखापत्र

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);