समिता लुइटेल । २५ फाल्गुन, काठमाडौं । एक सय ७ औँ अन्तर्राष्ट्रिय नारी दिवस, नेपालम पनि विवध कार्यक्रम गरी मनाइयो । बर्षेनी नारी दिवसको अवसरमा तारे होटलहरुमा कार्यक्रम आयोजना गरी तामझामका साथ नारी दिवस मनाइन्छ । तर वास्तविक पीडित महिलाहरुको जीवनस्तरमा भने दिवसको नाराले छुन सकेको छैन । हरेक बर्ष झै यस बर्ष पनि नारी दिवसका अवसरमा केही स्थानमा नारी अधिकार सम्बन्धी विविध नारा लेखिएका प्लेकार्ड सहित ¥याली निस्कियो त कहीँ सेमेनार गोष्ठी गरी नारी अधिकारका चर्का भाषण गरियो ।
यसरी हरेक बर्ष विभिन्न नारा दिँदै नारी अधिकारका बिषयमा चर्का भाषण दिने गरे पनि अधिकारबाट बञ्चित भएका नारीहरुको दैनिकीलाई भने नारी दिवसका नाराले छुन सकेको छैन । पछिल्लो समय संवैधानीक र कानुनी रुपमा नारीलाई प्रयाप्त अधिकार दिएको छ । तर व्यवहारमा हेर्ने हो भने खासै परिवर्तन देखिदैन । समाजमा अझै नारी माथि हुने विभेदको अन्त्य हुन सकेको छैन । त्यसो त नारीले अधिकार र पद नपाएको भने होइन ।
नेपालको विभिन्न क्षेत्रमा नारीहरुले नै नेतृत्वदायी भूमिका निर्वाह गरिरहेका छन् । राष्ट्रपति, प्रधानन्यायाधिस, सभामुख जस्ता प्रमुख पदहरुमा नारी नै आसिन छन् । त्यसबाहेक राजनीति, सरकारी तथा गैरसरकारी संस्थाहरुमा समेत नारीहरु नेतृत्वदायी भूमिकामा छन् । तर समाजमा अझैपनि नारीमाथि हुने अत्याचार र हिंसाका घटनामा भने कमी आउन सकेको छैन । पछाडी परेका महिलाहरुको सामाजिक, आर्थिक, व्यवसायीक, शैक्षिक सुधारमा जोड दिनु अहिलेको आवश्यकता हो । तर पछिल्लो समयमा महिलाको नाममा पहुँचमा भएकाहरुले नै फाइदा लिने परिपाटीको विकास भइरहेको छ ।
यसको अन्त्य गर्दै पिछडिएका र अधिकारबाट बञ्चित भएको महिलाहरुको विषयमा आवाज उठाउन आवश्यक छ । औपचारीक दिवसका अवसरमा चर्काचर्का भाषणबाजी गरेर मात्र महिला अधिकारको संरक्षण हुन सक्दैन । यसका लागि सर्वप्रथम त सामाजिक सोचमा परिवर्तन ल्याउन जरुरी छ । परम्पराका नाममा हुने महिलामाथिको हिंसाको अन्त्य गर्न पहल गर्नुपर्छ । आरक्षण होइन महिलालाई पनि हरेक क्षेत्रमा प्रतिष्पर्धा गर्न सक्ने बनाउनेतर्फ सम्बन्धित निकायको ध्यान जान जरुरी छ ।