साग स्वर्णधारी सन्तोषी सम्मानित | ईमाउण्टेन समाचार

Our Network

असार २६ २०८३, शनिबार

साग स्वर्णधारी सन्तोषी सम्मानित

काठमाडौं। नेपालमा भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण विजेता सन्तोषी श्रेष्ठ शनिबार सम्मानित भएकी छन् । प्रयास मञ्च नेपालले कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना गरेको पूर्व धावक बृद्धवीर लामाको ११औं गीतिमय साँझका अवसरमा सन्तोषीलाई सम्मान गरिएको हो । सम्मानित हुने क्रममा सन्तोषीले हलमा रहेका आफ्ना गुरु रघुराज वन्तलाई पनि मञ्चमा उपस्थित गराइ दिन आयोजकसँग अनुरोध गरेकी थिइन् । सन्तोषीले १३औं सागको एथलेटिक्सतर्फ १० हजार मिटर दौडमा स्वर्ण जितेकी थिइन् । सोही अवसरमा सिंगापुर गोर्खा पुलिस रेजिमेन्टमा कार्यरत धावक निमेश गुरुङलाई ‘अन्तर्राष्ट्रिय खेल रत्न सम्मान’ तथा द्रुक अन्तर्राष्ट्रिय सितोरियो कराते डो संघका सञ्चालक रनबहादुर राईलाई ‘लाइफटाइम एचिभ्मेन्ट’ अवार्डबाट सम्मान गरिएको थियो । त्यस्तै ६० वर्षे धावक शम्भुप्रसाद दाहाल, ६७ वर्षे धावक पुष्पलाल श्रेष्ठ, पूर्व धाविका लिना प्रधान, धावक लाक्पा शेर्पा लामा, ओलम्पियन मुकुन्दहरि श्रेष्ठ, भेट्रान धावक धर्म महर्जन, पूर्व धाविका उषा मानन्धर, धावक देव महर्जन र पूर्व खेलाडी नरबहादुर थापा पनि सम्मानित भए । त्यसै अवसरमा वरिष्ठ संगीतकार एवं गायक पुष्प गजमेर, गीतकार तथा भुटनिज अमेरिकन म्युजिक एसोसिएसन (बामा) का अध्यक्ष खेम रिजाल, संगीत संयोजक जीवनप्रकाश प्रधान र गायक तथा संगीतकार प्रताप सुब्बालाई पनि सम्मान गरियो ।

उनीहरुलाई पूर्व प्रधानमन्त्री झलनाथ खनाल, ज्ञानोदय बाल वाटिकाकी संस्थापक प्रिन्सिपल इन्दिरा याक्थुम्बा, पूर्व धावक एवं रचनाकार बुद्धवीर लामालगायतले एक कार्यक्रमबीच सम्मान गरे ।

Leave a Reply