फरेनिया बजार जान रोक लगाएसँगै नेपाली व्यवसायी उत्साहित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

फरेनिया बजार जान रोक लगाएसँगै नेपाली व्यवसायी उत्साहित

भैरहवा । भारतीय सीमा क्षेत्रमा लाग्ने झण्डीबजार (फरेनिया) जान रोक लगाएसँगै नेपालतर्फको बजारमा चहलपहल बढ्न थालेको छ । हरेक शनिबार र बुधबार लाग्दै आएको बजारमा नेपालीलाई जान स्थानीय प्रशासनले रोक लगाएसँगै यसकाे प्रभाव नेपाली बजारमा देखिन थालेको हो ।

बढ्दै गएको कोभिड संक्रमण, सुरक्षा चुनौती र भिडभाडलाई नियन्त्रण गर्न जिल्ला स्तरीय कोभिड संकट व्यवस्थापन केन्द्र डिसिसीएमसीको प्रस्तावमा प्रशासनले बजार जान रोक लगाएको हो । रोक लगाएसँगै बजार जाने मुख्य बाटो मेउडिहवा र नौडिहवामा सुरक्षाकर्मीले बजार भर्न जानेलाई फर्काउने गरेका छन् । नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोली बजार क्षेत्रमा जाने सवैसाधरणलाई सम्झाई बुझाई फर्काउने गरेकाे छ । एक महिनादेखि फर्काउन लागेकोले अहिले बजार जानेको संख्या न्यून रहेको सशस्त्र प्रहरीले जनाएकाे छ ।

सुरक्षाकर्मीले मेउडिहवा चोकबाट नै बजार गर्न मुख्यबाटो प्रयोग गर्न नदिएपछि नेपालीहरु भित्रीबाटो हुदै खेतखेतबाट पनि छिटफुट बजार पुग्ने गरेका छन । भारतिय भुमिमा लाग्ने यो बजार कोरोना जोखिमका कारण केही समय मात्रै बन्द थियो,  खुला सिमाका कारण बजारमा अहिले नेपालीहरु जोखिम मोलेर खेत खेतकै बाटो भएर पनि जाने गरेका छन ।

तीन दशकभन्दा बढीदेखि लाग्दै आएको बजार खुला सीमाना र प्रहरीको निगरानी कम भएकाले नुनदेखि सुन पाउने थलोको रुपमा रहेको छ । यहाँ बजार भर्न रुपन्देही मात्रै होइन, कपिलवस्तु र नवलपरासी पाल्पासम्मका नेपाली उपभोक्ता आउने गर्थे । सस्तोको नाममा गुणस्तरहीन वस्तु लिएर जान थालेपछि यो बजारको आलोचना हुने गरेकाे छ । नेपाली उद्योगी व्यवसायीले पनि बजार जान बन्द गर्नु पर्ने माग गर्दै आएका थिए ।

‘सीमा क्षेत्रका उद्योगी व्यवसायीलाई नराम्री प्रभावित पारेकाे यो बजार बन्द हुनुपर्छ भन्ने हामीले वर्षाैदेखि आवाज उठाइरहेका थियौं । यस हाम्रो समर्थन छ, यसले हाम्रो बजार विस्तारै प्रवर्द्धन हुँदै गएको छ ।’ उद्योग व्यापार संगठनका अध्यक्ष अनिल ज्ञवालीले भने, ‘उपभोक्तहरू सस्तोको नाममा गुणस्तरहीन वस्तु उपभोग गरिरहेका थिए, यसले स्वास्थ्यमा अल्पकालिन र दीर्घकालिन समस्या निमत्याउँछ ।’

बजार जाने मेउडिहवा, रानीगाँउ र पूर्व नौडिहवाको चोकमा सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन भए पनि अन्य भित्री, छेउछाउका नाका र खेतबाट नेपालीहरू बजार भर्न गइरहेका छन् । कोरोनाभन्दा पनि सस्तोमा सामान पाइने भएकोले खेत खेतको बाटो भएर किनमेल गर्न जाने गरेको एक उपभोक्ताले बताए ।

साग, सब्जी, घरायसी वस्तु र लत्ताकपडाका अलावा यहाँ माछा मासु पनि निकै सस्ताे पाइने उपभाेक्ताकाे भनाइ छ । डम्पिङ साइड नजिकै र खुला आकाशमुनि लाग्ने बजारमा पाइने माछा मासु निकै फाेहाेर देखिन्छन् । तर, नेपाली बजारमा भन्दा सस्तोमा पाइने भन्दै सर्वसाधरण पुग्ने गरेका थिए ।

सिमावर्ती क्षेत्रमा लाग्ने यस्ता बजारले वार्षिक करोडौं नेपाली मुद्रा बाहिरिने गरेको छ । करको दायरामा आएका र प्रक्रियागत रुपमा व्यवसाय सञ्चालन गरेका उद्योगी व्यवसायीलाई यो बजारले प्रत्यक्ष मार पार्ने गरेकोे सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष भिष्मप्रसाद न्यौपाने बताए । खुला र विनाभन्सार सामान आउँदा नेपाली बजारलाई प्रतिस्पर्धा गर्न पनि गाह्राे हुने गरेकाे छ ।

सस्तो हुन्छ भन्ने मानसिकताले भारतीय बजारले प्रसय पाएको थियो । भैरहवामै गुणस्तरीय र सस्तो सामान पाइन्छ भन्ने थाहा हुँदा पनि भारत जाने गरेको छन् ।  यस्ता खालका बजारलाई निरुत्साहित गर्नुपर्ने उपभोक्ता हित संरक्षण मञ्च सिद्धार्थनगरका अध्यक्ष नरेन्द्र राज भण्डारीले बताए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);