विभिन्न स्थानमा अवैध लागूऔषधसहित पाँच जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

असोज ९ २०७९, आइतबार

विभिन्न स्थानमा अवैध लागूऔषधसहित पाँच जना पक्राउ

काठमाडौं। सुर्खेत, सिरहा, दाङ र पर्साबाट अवैध लागूऔषधसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–४ भैरवस्थानबाट ४७ ग्राम ६ सय २० मिलिग्राम ब्राउन सुगरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही ठाउँ बस्ने ३७ वर्षीय किरण गिरी र उनकी श्रीमती २६ वर्षीया सरला शाही थापा रहेका छन् । उनीहरुलाई आइतबार प्रहरीले पक्राउ गरेको हो । सिरहाको औरही गाउँपालिका–१ हनुमानचोकबाट ३० ट्याब्लेट नियन्त्रित लागूऔषध नाईट्राभेटसहित गोलबजार नगरपालिका–५ बस्ने २५ वर्षीय सुरेन्द्र कुमार महरालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । भारतबाट नेपालतर्फ आउँदै गरेको ‘अनटेस्ट’ मोटरसाइकलमा सवार सुरेन्द्रलाई प्रहरी चौकी हर्कटीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनको साथबाट लागूऔषध फेला पारी पक्राउ गरेको हो । दाङको तुलसीपुर उपमहानगरपालिका–१६ दक्षिण कुरुरिया बस्ने ५० वर्षीया पार्वती खत्रीलाई ५ किलोग्राम गाँजासहित आइतबार प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय मलवार र इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनको घर खानतलासी गर्दा बोराभित्र लुकाई राखेको उक्त गाँजा फेला पारी पक्राउ गरेको हो ।पर्साको वीरगन्ज महानगरपालिका–१६ रजतजयन्ती चोकबाट १२० ट्याब्लेट नियन्त्रित लागूऔषध नाईट्राभेटसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक पाँचखाल नगरपालिका–१० बस्ने २५ वर्षीय आशिस शाही छन् । उनलाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।

वडा प्रहरी कार्यालय विर्ता पर्सा र लागूऔषध नियन्त्रण ब्यूरो वीरगन्जबाट खटिएको संयुक्त टोलीले जाँच गर्ने क्रममा आशिसको साथबाट उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।

Leave a Reply