सात मुख्यमन्त्रीमा तीन दर्जन आकांक्षी, को को ? | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

काठमाडौं । पार्टीको केन्द्रीय राजनीति त्याग गर्दै मुख्यमन्त्री बन्ने लोभमा केही नेता प्रदेशसभाको निर्वाचनमा होमिएका छन् । पूर्वमन्त्री, पूर्वसांसदसमेत भइसकेका र केन्द्रीय राजनीतिमा हस्तक्षेपकारी भूमिका निर्वाह गर्ने ती नेताहरू आफूलाई मुख्यमन्त्रीको दाबीसहित मत मागिरहेका छन् ।

प्रदेशसभाको उम्मेदवार बनेका नेताहरू अब केन्द्रीय राजनीति नभई प्रदेशकै राजनीतिको नेतृत्व गर्नेगरी प्रदेशतर्फ फर्केका हुन् । सर्वसाधारण जनताका बीचमा पुगिरहेका उनीहरूले आफू प्रदेशसभाका उम्मेदवार मात्रै नभई भावी मुख्यमन्त्रीको उम्मेदवारसमेत रहेको दाबी गर्दै आफैंलाई मतदान गरी विजयी बनाउन आग्रह गरिरहेका छन् ।

यद्यपि अहिलेसम्म कुनै पनि पार्टीले मुख्यमन्त्रीको आधिकारिक निर्णय गरेका छैन । निर्वाचनपछि पार्टीको हैसियत एवं अन्य पार्टीसँग हुने तालमेलका आधारमा प्रदेश सरकार निर्माण हुने भएकाले निर्वाचनबाट आउने परिणामपछि नै मुख्यमन्त्रीको निर्णय गरिने नेताहरू बताउँछन् ।

एमाले र नेकपा माओवादी केन्द्रको वाम गठबन्धनबाट मुख्यमन्त्री बन्नेको होडबाजी नै छ । कांग्रेसभन्दा बढी मुख्यमन्त्रीका दाबेदार वाम गठबन्धनबाट बढी छन् । सर्वसाधारणसँग मत माग्दै प्रचारप्रसारमा रहेका उनीहरूले आफू भावी मुख्यमन्त्रीको उम्मेदवार रहेकाले आफ्नो पक्षमा मतदान गरिदिन आग्रह गरिरहेका छन् ।

पूर्वपर्यटनमन्त्री तथा दुईपटक सांसद भइसकेका एमालेका सचिव भीम आचार्य प्रदेश १ को मुख्यमन्त्रीका दाबेदार हुन् । मुख्यमन्त्री बन्नैका लागि उनी सुनसरी–२ को प्रदेशसभा (ख) बाट उम्मेदवार छन्।

प्रदेश १ मा आचार्यसँग भोजपुर–१ (ख) बाट प्रदेशसभाको उम्मेदवार बनेका एमाले पोलिटब्युरो सदस्य एवं प्रदेश १ का उपप्रमुख शेरधन राईले पनि भावी मुख्यमन्त्रीको दाबेदारका रूपमा आफूलाई प्रस्तुत गरे । उनको क्षेत्रमा निर्वाचन सम्पन्न भइसकेको छ।

माओवादी केन्द्रका नेता टंक आम्बुहाङले पनि मुख्यमन्त्रीको दाबी गर्दै मत मागे । उनको क्षेत्र ताप्लेजुङ १ (ख) मा निर्वाचन भइसकेको छ । प्रदेश १ मा वाम गठबन्धनको प्रदेशसभातर्फ बहुमत आउने पूर्वअनुमानका साथ यहाँ मुख्यमन्त्रीका दाबेदारको संख्या बढी भएको छ ।

कसका दाबेदार कति ?

कांग्रेस–६

एमाले–१४

माओवादी केन्द्र–५

राजपा नेपाल–७

फोरम नेपाल–३

प्रदेश २ मा मुख्यमन्त्रीको दौडमा वाम गठबन्धनका तर्फबाट तीन जना नेता छन् । एमाले स्थायी कमिटीका सदस्य एवं प्रदेश २ का संयोजक सत्यनारायण मण्डल, पोलिटब्युरो सदस्य एवं प्रदेश २ का सहसंयोजक नागेन्द्र चौधरी, माओवादी केन्द्रका नेता भरत साह वाम गठबन्धनबाट भावी मुख्यमन्त्रीका दाबेदारका छन् ।

प्रदेश २ मा कांग्रेसको तर्फबाट पूर्वराष्ट्रपतिका छोरासमेत रहेका नेता डा चन्द्रमोहन यादव र प्रेमकिशोरप्रसाद साहले मुख्यमन्त्रीको दाबीसहित चुनावी प्रचारप्रसारमा छन्।

यादव धनुषा ४ (क) र साह धनुषा १ (क) बाट प्रदेशसभाका लागि चुनावी प्रतिस्पर्धामा छन् । राजपा नेपाल र फोरम नेपालको मधेसवादी गठबन्धनले बहुमत ल्याए आफ्नै नेतृत्वमा प्रदेश सरकार गठन गर्ने दाबी गर्दै आएका छन् ।

आफ्नो बहुमत आउने पूर्वअनुमानका गर्दै मधेसवादी गठबन्धनबाट भावी मुख्यमन्त्रीका लागि दाबेदार अन्य पार्टीभन्दा बढी छन् । मधेसवादी गठबन्धनबाट मुख्यमन्त्रीमा राजपा नेपालबाट राजकुमार लेखी, मनीष सुमन, परमेश्वर साह, सुरिता साह, रानी तिवारी, उपेन्द्र महतो र जितेन्द्रप्रसाद सोनारको छ ।

लेखी सप्तरी–१ (क), सुमन सप्तरी–२ (ख), साह धनुषा–३ (ख), सुरिता महोतरी–२ (ख), तिवारी महोतरी–३ (ख), महतो सर्लाही–१ (क) र सोनार बारा–४ (ख) बाट प्रतिस्पर्धामा छन् । यसैगरी फोरम नेपालबाट पार्टीका उपाध्यक्ष लालबाबु राउतका साथै पारसप्रसाद साह, शैलेन्द्र साह पनि भावी मुख्यमन्त्रीको दाबेदार छन् । राउत पर्सा–१ (ख), पारस बारा–३ (ख) र शैलेन्द्र सप्तरी–२ (क) बाट उम्मेदवार छन् ।

प्रदेश ३ मा एमाले उपाध्यक्ष एवं प्रदेश ३ की संयोजक अष्टलक्ष्मी शाक्य, पोलिटब्युरो सदस्यत्रय राजेन्द्र पाण्डे, अरुण नेपाल, पशुपति चौलागाईं, माओवादी केन्द्रबाट शालिकराम जमरकट्टेल र कांग्रेसबाट इन्द्र बानियाँले भावी मुख्यमन्त्रीका रूपमा आफूलाई प्रस्तुत गरिरहेका छन् ।

प्रदेश ४ को मुख्यमन्त्रीका लागि एमाले सचिव पृथ्वीसुब्बा गुरुङ र स्थायी कमिटी सदस्य किरण गुरुङ प्रतिस्पर्धामा छन् । पार्टीको प्रदेश प्रमुख, पूर्ववनमन्त्री एवं पूर्वसांसद रहेका किरणले आफूलाई मुख्यमन्त्री बनाउन भन्दै पार्टीमा लबिङसमेत थालेका छन् ।

पूर्वपर्यटनमन्त्री एवं पूर्वसांसद पृथ्वीसुब्बाले आफू पार्टीको सचिव एवं संगठन विभाग प्रमुखसमेत भएकाले आफू नै भावी मुख्यमन्त्री बन्नुपर्ने दाबी गरिरहेका छन् । किरण तनहुँ–२ (ख) र पृथ्वीसुब्बा लमजुङ–१ (ख) बाट प्रदेशसभाका उम्मेदवार छन् । दुवैको क्षेत्रमा निर्वाचन भइसकेको छ ।

माओवादी केन्द्रबाट प्रदेश ४, ५ र ७ मा कसैले पनि मुख्यमन्त्रीको दाबी गरेका छैनन् । कांग्रेसबाट प्रदेश ४ मा ध्रुव वाग्लेले दाबी गरेका छन् । तनहुँ–२ (ख) बाट प्रदेशसभाका उम्मेदवार वाग्ले तनहुँका पूर्वपार्टी सभापति र पूर्वसांसदसमेत हुन् ।

प्रदेश ५ मा वाम गठबन्धनबाट भावी मुख्यमन्त्रीका एक मात्र उम्मेदवारका रूपमा एमाले स्थायी कमिटी सदस्य शंकर पोखरेल छन् । एमाले र माओवादीका शीर्ष नेताले भावी मुख्यमन्त्री बनाउने आश्वासन दिएपछि उनी दाङ–२ (क) बाट उम्मेदवार छन् । प्रदेश ५ मा भावी मुख्यमन्त्रीका लागि कांग्रेसबाट अहिलेसम्म खुलेर कसैले दाबी गरेका छैनन् । यसैगरी प्रदेश ६ मा एमाले पोलिटब्युरो सदस्यद्वय यमलाल कँडेल र प्रकाश ज्वालाको दाबी छ ।

माओवादीबाट प्रदेश ६ को भावी मुख्यमन्त्रीका लागि महेन्द्रबहादुर शाही र नरेश भण्डारी दाबीमा छन् । प्रदेश ६ मै कांग्रेसबाट भावी मुख्यमन्त्रीको दाबी गर्ने पूर्वपर्यटनमन्त्री जीवनबहादुर शाही छन् । सुदूरपश्चिमको प्रदेश ७ मा एमालेबाट मुख्यमन्त्रीको मुख्य दाबेदारका रूपमा कर्णबहादुर थापा छन् ।

पार्टीको पोलिटब्युरो सदस्य एवं पूर्वउद्योगमन्त्री रहेका थापा समानुपातिकतर्फको प्रदेशसभा उम्मेदवार छन् । यसैगरी कांग्रेसबाट बहादुरसिंह थापाले भावी मुख्यमन्त्रीको दाबी गरिरहेका छन् । कञ्चनपुर २ (ख) बाट उम्मेदवार बनेका थापा पूर्वसांसद हुन् ।  राजधानी दैनिकबाट

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);