चर्चामा सिटौला-लिङ्देन भिडन्त, सिटौलालाई ५० हजार मतान्तरले हराउँछु: लिङ्देन | ईमाउण्टेन समाचार

Our Network

भदौ १६ २०८१, आइतबार

काठमाडाैं, १८  मंसिर । प्रदेशसभा तथा प्रतिनिधिसभाको दोस्रो चरणको निर्वाचनको मिति नजिकिँदै गर्दा झापा क्षेत्र नम्बर–३ चर्चाको शिखरमा छ । कांग्रेस नेता कृष्णप्रसाद सिटौला र वाम गठबन्धनका तर्फबाट राप्रपा महामन्त्री राजेन्द्र लिङदेन यस क्षेत्रबाट चुनाव लड्दैछन्। एमाले र माओवादी केन्द्रबीच चुनावी गठबन्धन भएसँगै कांग्रेसले पनि राप्रपासँग गठबन्धन ग-यो।

तर, त्यो गठबन्धन झापामा टिक्न सकेन । त्यसको प्रमुख कारक थिए, कांग्रेस नेता सिटौला । राप्रपा र कांग्रेसबिच गठबन्धन भएसँगै झापाको क्षेत्र नम्बर ३ मा राप्रपा महामन्त्री लिङदेन उम्मेदवार बन्ने सहमति भएको थियो । यसअघि सोही क्षेत्रबाट निर्वाचित हुँदै आएका सिटौलालाई यसपटक समानुपातिक सूचीमा राखेका थिए, कांग्रेस सभापति शेरबहादुर देउवाले पनि।

तर, सिटौलाले समानुपातिकमा बस्न रुचाएनन् । उनले जसरी पनि प्रत्यक्षमै चुनाव लड्ने अडान कसेपछि झापामा कांग्रेस र राप्रपाबिचको लोकतान्त्रिक गठबन्धन भत्किएको हो । लगत्तै एमाले र माओवादी केन्द्रले राप्रपालाई झापा–३ मा सघाउने निर्णय ग¥यो । राप्रपाले पनि मेची अञ्चलभर उम्मेदवार उठाएन । र, वाम गठबन्धनलाई सघाउने निर्णय ग-यो । झापामा बनेको यो गठबन्धनलाई राप्रपा उम्मेदवार लिङदेन ‘वामपन्थी, देशभक्त, राष्ट्रवादीहरुको गठबन्धन’ भन्न रुचाउँछन् ।

लिङ्देन यसअघि पनि सोही क्षेत्रबाट कांग्रेस नेता सिटौलासँगै पराजित उम्मेदवार हुन् । पराजित भए पनि उनले कहिल्यै आफ्नो क्षेत्र भने छाडेनन् । लगातार जनताको सेवामा जुटिरहे । कांग्रेस नेता सिटौलालाई पराजित गर्ने उनको पुरानो धोको हो । कांग्रेससँग गठबन्धन भत्किएपछि सिटौलालाई ‘धुलो चटाउँछु’ भन्दै कम्मर कसेका लिङ्देनलाई त्यति नै बेला वाम गठबन्धनले साथ दियो । र, उनी सिटौलालाई ५० हजार मतान्तरले हराउने दर्विलो आत्मविश्वासका साथ चुनावी मैदानमा छन् ।

‘मान्छेले २ वटा कुरामा एकदमै ध्यान पु¥याउनुपर्ने रहेछ,’ लिङ्देन भन्छन्, ‘छोरी दिँदा सय पटक, भोट दिँदा हजार पटक सोचिएन भने दुःख पाइन्छ ।’ पटक–पटक सिटौलाले यस क्षेत्रबाट चुनाव जिते पनि केही विकास निर्माणका काम गर्न नसकेको लिङ्देन बताउँछन् । पछिल्लो २५ वर्षमा सिटौलाले गर्न नसकेको काम आफू निर्वाचित भएको ५ वर्षमा गरेर देखाउने लिङ्देनको दाबी छ ।

‘म यहीँको धुलो, माटोमा हुर्केको, खेलेको सामान्य परिवारको मान्छे हुँ, मैले यहाँका बासिन्दाको दुःख राम्ररी बुझेको छु,’ उनी भन्छन्, ‘पटक–पटक चुनाव जितेर पनि कांग्रेसले यहाँ धेरै चकचक ग-यो, धेरै मात्तियो, त्यसैले हामीले वामपन्थी, देशभक्त, राष्ट्रवादीहरुको गठबन्धन नै बनाउनुप-यो ।’

देशका बलिया दुई पार्टीको समर्थन पाएकाले सिटौलालाई पराजित गर्ने आफ्नो सपना साकार हुनेमा विश्वस्त देखिन्छन्, लिङ्देन । कांग्रेसले २५ वर्षमा नगरेको काम आफू विजयी भएको ५ वर्षभित्रमा गर्न नसकेमा फेरि भोट माग्दै नहिँड्ने उनी बताउँछन् । आफूसँग काम गर्ने क्षमता, सपना र योजना प्रशस्तै रहेको उनले सुनाए । ‘चुनाव नजित्दा त सिटौलाले भन्दा बढी सेवा गरेर बसेको छु, जितेपछि कहाँ चुप लागेर बस्छु र ?,’ लिङदेनले भने।

चुनावी अभियानका क्रममा सिटौला भने लिङ्देनलाई विभिन्न आरोप लगाइरहन्छन् । लिङ्देन चाहिँ कसले कति काम गरेको छ भन्ने जान्नका लागि आफूसँगै भोट माग्दै हिँड्न सिटौलालाई चनौती दिन्छन् । ‘आमाको दूध खाएको बाबुको छोरा हो भने सिटौलालाई मेरो आह्वान छ, सँगै भोट मागेर हिँडौँ जनतासँग, क–कसले कति–कति काम गरेको हो, शास्त्रार्थ गर्न तयार छु,’ लिङ्देन भन्छन्, ‘उहाँले गरेको काम बेसी देखिएछ भने आजै उम्मेदवारी त्यागेर उहाँको झोला बोकेर हिँड्न तयार छु।’ – नयाँ पत्रिका दैनिकबाट

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);