खोटाङमा सहिद मनोज-झपेन्द्रको ३१औं स्मृति दिवस मनाइँदै  | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

खोटाङमा सहिद मनोज-झपेन्द्रको ३१औं स्मृति दिवस मनाइँदै 

खोटाङ । खोटाङमा विभिन्न कार्यक्रम गर्दै सहिद मनोज जोशी-झपेन्द्र कार्कीको ३१औं स्मृति दिवस मनाउने तयारी गरिएको छ । १५ साउन २०४८ मा नेपाल निजामती कर्मचारी संगठनमा आवद्ध कर्मचारीले दिक्तेलमा निकालेको शान्तिपूर्ण जुलुसमा सहभागी बनेका बेला प्रहरीको गोली लाग्दा ज्यान गुमाएका जोशी र कर्मचारी आन्दोलनकै क्रममा आगजनीमा ज्यान गुमाएका कास्कीका वारुणयन्त्र चालक कार्कीको स्मृतिमा तीनदिनसम्म विभिन्न कार्यक्रम गर्दै ‘मनोज–झपेन्द्र’ स्मृति दिवस मनाउने तयारी गरिएको हो ।

स्मृति दिवसको अवसरमा १३ साउन बिहान दिक्तेलस्थित मनोज मार्ग सरसफाइ गर्नुका साथै अनेरास्ववियुको संयोजनमा रक्तदान, १४ साउनमा बिहान जिल्ला अस्पतालका बिरामीलाई फलफूल वितरण र १५ साउनमा जोशीको समाधिस्थलमा श्रद्धाञ्जलीसभाको कार्यक्रम राखिएको मनोज स्मृति प्रतिष्ठान खोटाङका अध्यक्ष कुमार आचार्यले बताए ।

प्रतिष्ठानले १५ साउनदेखि खोटाङ फुटबल एकेडेमीको आयोजनामा सुरु हुने फुटबल प्रतियोगीताको प्रथम पुरस्कार प्रयोजनको घोषणा गरेको जनाएको छ । जिल्लामा मनोज स्मृति प्रतिष्ठान, नेपाल निजामती कर्मचारी संगठन र नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतीले हरेक वर्ष विभिन्न कार्यक्रम गर्दै जोशी र कार्कीको स्मृति दिवस मनाउँदैआएको छ । जोशीलाई सरकारले २२ माघ २०७४ मा सहिद घोषणा गरेको थियो ।

तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई सरकारसँग भएको सम्झौताअनुसारको सेवासुविधा नदिइएको विरोधमा कर्मचारीहरूको अगुवाइमा निस्किएको शान्तिपूर्ण जुलुसमा सहभागी बनेका जोशीलाई दिक्तेलको हेलिप्याडमा प्रहरीको गोली लागेको थियो । विरोध जुलुस बजार परिक्रमापछि तत्कालीन प्रमुख जिल्ला अधिकारी भोलाप्रसाद सिलवालको कार्यकक्षतर्फ जानेक्रममा प्रहरीले अन्धाधुन्ध चलाएको गोली जोशीलाई लागेको घट्नाका प्रत्यक्षदर्शीहरू बताउँछन् । उसबेला आक्रोशित भिडले केही कार्यालय प्रमुखहरूलाई नियन्त्रणमा लिएर घाँस खुवाउने लगायतका दुर्व्यवहार गरेका थिए ।

सरकारविरुद्धको आन्दोलनमा सहभागी भएको भन्दै आन्दोलनमा सहभागी जिल्लाका १३ जना कर्मचारीहरू जागीरबाट हटाइएका थिए । दिक्तेल बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थी जोशीको हत्या भएको सोही घटनालाई जिल्लामा ‘मनोज हत्याकाण्ड’ कारुपमा चिन्ने गरिन्छ । सोही दिनको कर्मचारी आन्दोलन र गोली काण्ड भएको दिनलाई जिल्लामा ‘मनोज–झपेन्द्र’ स्मृति दिवसका रुपमा मनाइँदै आइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);